विकू गर्भदेखी स्वर्गसम्म, २ स्थानमा क्षेत्रिय साधारण सभा सम्पन्न

0


प्रेम क्षेत्री

मंसिर २८, नवलपुर । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार २ स्थानमा क्षेत्रिय साधारण सभा सम्पन्न गरेको छ । कावासोती १६ डण्डाबजार खेल मैदान र सरस्वती मावि कावासोती १७ गोछडामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै विकूका अध्यक्ष केशवप्रसाद सापकोटाले विकू बी टु अर्थात बिग एण्ड विगेष्ट अवधाराणामा अघि वढेको जनाउँदै सदस्य हितमा केन्द्रीत रहेको बताउनुभयो । विकूले सदस्यको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत गर्भदेखी स्वर्गसम्मका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।


डण्डामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रा पुनले विकूले गरेका कामको प्रंशसा गर्दै संस्थाको सफलताको कामना व्यक्त गर्नुभएको थियो । त्यस्तै हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मि पाण्डेले विकूले नवलपुरको विकास र यहाँका जनताको आर्थिक विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । विकूले समाजमा उदाहरणिय काम गरेको उल्लेख गर्दै उहाँले स्थानीय तहहरुले पनि सहकार्य गर्दै अघि वढ्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सह सचिव प्रेमप्रसाद सापकोटा राजुले ५२ हजार ७ सय ६१ सेयर सदस्य पुगेको जानकारी दिनुभयो । उहाँले संस्थाको सेयर पुँजी ३९ करोड ६ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको बताउनुभयो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष कालिदास गौडेलले संस्थाको कुल सम्पत्ति गतवर्षको तुलनामा करिब २६ प्रतिशतले वृद्धि भई ३ अरब ९५ करोड २१ लाख ५२ हजार ३ सय ३१ पुगेको जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७५÷०७६ मा भएको ४७ करोड ८५ लाख ७० हजार ९ सय २९ रुपैयाँ कुल आम्दानी र २९ करोड ७३ लाख ९ हजार १ सय ९१ रुपैयाँ खर्च भई सञ्चालन मुनाफा १८ करोड १२ लाख ६१ हजार ७ सय ३८ रुपैयाँ भएको कोषाध्क्ष गौडेलले जानकारी दिनुभयो । लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै सदस्य गोविन्दराज लामिछानेले सदस्यलाई खुसी र स्वस्थ बनाउने लक्ष्य पुरा गर्न तल्लिन रहेको बताउनुभयो ।


शिक्षा समितिका संयोजक तथा सञ्चालक ओमप्रसाद सापकोटाले स्वागत गर्नुभएको सो कार्यक्रम विकूका उपाध्यक्ष त्रैलोक्यनाथ खरेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण प्रमुख अधिकृत माधवप्रसाद पौडेलले गर्नुभएको थियो । डण्डामा भएको कार्यक्रममा चोरमारा, श्री गणेश र कावासोती सेवा केन्द्रका सदस्य उपस्थित थिए ।

त्यस्तै गोछडामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर रानाले स्थानीय सरकारले गर्न नसकेका काम विकूले गरेको भन्दै विकूबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो । साथै उहाँले शिक्षा, स्वास्थ्य र कृषि लगायत समावेशीकरण गरि विकूले सदस्य हितका कार्य गरिरहेको जनाउँदै अझै प्रगतीको कामना व्यक्त गर्नुभयो । त्यस्तै मध्यविन्दु नगरपालिकाका उप प्रमुख ओमकुमारी महतोले पिछडीएका समुदायको आयआर्जन र जिवीका निर्वाहमा विकूको भुमिका अहम् रहेको बताउनुभयो । त्यस्तै कावासोती नगरपालिकाका नगर उप प्रमुख प्रेम शंकर मर्दनियाले मानविय जीवनमा असल परिवर्तन गर्न बचत गर्नुपर्छ भन्ने सन्देश विकूले दिएको बताउनुभयो ।


कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विकूका सचिव गोविन्द रिमालले उत्कृष्ट प्रविधिको अनुकरणिय प्रयोग विकूले गर्दै आएको बताउनुभयो । उहाँले आगामी वर्ष पनि २३ वटा वित्तीय र ३५ वटा गैर वित्तीय कार्यक्रम गर्ने बताउनुभयो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक पुष्पराज बरालले ऋण लगानीको कूल गणना गर्दा १० अरब ८३ करोड ९३ लाख ३० हजारभन्दा वढि ऋण लगानी गर्न सफल भएको जानकारी दिनुभयो । लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक टिकाराम कंडेलले विकूको अघिल्लो साधारण सभाबाट पास भएका कार्यक्रम असार मसान्तसम्म आईपुग्दा ९१ प्रतिशत भन्दा वढि सम्पन्न भएको बताउनुभयो । कार्यक्रममा विभिन्न विधामा २८ जनालाई पुरस्कृत एवम् सम्मान गरिएको थियो ।
सञ्चालक यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम विकूका पुर्व अध्यक्ष एवम् सञ्चालक ईन्द्रराज ज्योती पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण विकूका अधिकृत पूर्णप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा नव लुम्बीनी र हिमकिरण सेवा केन्द्रका सदस्य उपस्थित थिए । विकूले पौष १२ गते अन्य सेवा केन्द्र अन्तर्गत देवचुली र गैंडाकोटमा साधारण सभा गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै विकूले नयाँ कार्यसमिति चयन गर्ने जनाईएको छ ।

Share.

Leave A Reply