विद्युत्को नयाँ फिडर थपियो

0

चितवन, २८ मङ्सिर :भरतपुर महानगरपालिकाको नारायणगढदेखि मङ्गलपुरसम्मको क्षेत्रमा विद्युत्को गुणस्तर विकास गर्न नयाँ फिडर थप गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले कल्याणपुरमा फिडर थप गरेको हो । वितरण केन्द्रका प्रमुख सुरेश महतोका अनुसार सो क्षेत्रमा भार नधान्ने र भोल्टेज नपुग्ने समस्या भए पछि बसेनीमा रहेको सवस्टेशनबाट एक हजार भोल्टको तार तानेर कल्याणपुरमा फिडर स्थापना गरिएको हो । सो फिडरबाट दुई हजारभन्दा बढी ग्राहक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । भरतपुर वितरण केन्द्रको यो नवौँ फिडर हो । सो फिडरबाट नारायणगढ, मङ्गलपुर, कल्याणपुर, तोरीखेतलगायतका क्षेत्रका ग्राहक लाभान्वित भएका छन् । करिब रु ६० लाखको लागतमा फिडर सञ्चालनमा ल्याइएको हो । भरतपुर वितरण केन्द्रका ५६ हजार ग्राहक रहेका छन् । जाडो मौसममा दैनिक ३० एमभी ए विद्युत् खपत हुने उहाँले बताउनुभयो । रङ्गशालालाई सहयोग भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम बढेको छ । विभिन्न अवसर पारी व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन् । नारायणगढमा रहेको हंस बहुउद्देश्यीय सहकारीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु १० लाख हस्तान्तरण गरेको हो । संस्थाको १० औँ वार्षिकोत्सवको अवसर पारी फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले सो रकम हस्तान्तरण गर्नुभएको हो । विस्तृत अध्ययन प्रतिवेदन तयार भएसँगै पछिल्लो समय रङ्गशाला निर्माणले गति लिएको छ । धुर्मुसकै उपस्थितिमा हरेक दिन १६१ कामदार रङ्गशाला निर्माणमा खटिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका अध्यक्ष कट्टेलले हरेक दिन व्यक्तिगत तथा संस्थागतरुपमा सहयोग आउने क्रम बढेको बताउनुभयो । रङ्गशाला हेर्न आउनेको पनि भीड लाग्न थालेको छ । एकै दिन दुई हजार ५०० सम्म रङ्गशाला टिकट काटेर छिर्ने गरेका छन् । फाउण्डेशनको अगुवाइमा रु दुई अर्ब ५० करोड हाराहारी खर्च गरेर रङ्गशाला बनाउन लागिएको हो । हालसम्म रङ्गशाला निर्माणका लागि रु चार करोडभन्दा बढी रकम सङ्कलन भएको फाउण्डेशनले जनाएको छ । सेनाको जलउद्धार अभ्यास नारायणी नदीमा नेपाली सेनाले जलउद्धार अभ्यास तालीमको प्रदर्शनी गरेको छ । नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण रसौली चितवनले तालीम प्रदर्शनी गरेको हो । श्री विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गतका फौजको क्षमता विकास अभिवृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको विकास गर्ने उद्देश्यले जलउद्धार अभ्यास गरिएको गणले जनाएको छ । सो अवसरमा नदीमा डुङ्गा पल्टेर डुबेकाको उद्धार कसरी गर्ने भन्नेबारेमा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा मोटरबोट, जेटबोट र ¥याफटिङबोट प्रयोग गरिएको थियो । छ दिनसम्म भएको उक्त तालीमको समापन शुक्रबार गरिएको हो । तालीममा श्री विपद् व्यस्थापन तालीम शिक्षालय श्री नम्बर १ विपद् व्यवस्थापन गण र श्री नम्बर २ विपद् व्यवस्थापन गणका ३५ सेनाको सहभागिता रहेको श्री नम्बर २ विपद् व्यवस्थापन गणका गणपति राजेन्द्र पराजुलीले बताउनुभयो । उक्त प्रदर्शनमा प्रशिक्षार्थीले फ्लिप ड्रिल, अण्डर वाटर क्रसिङ, ओ बी एम ¥याफटिङ बोटद्वारा अभ्यास गरेका थिए । तालीमको समापनका अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई विपद्मा प्रयोग गरिने विभिन्न आधुनिक उपकरणबारे जानकारी गराइएको थियो । सो अवसरमा विपद्का बेला उद्धार गर्ने सम्बन्धमा पूर्वअभ्यास देखाउने, नदीमा बगेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा प्रदर्शर्नी गरिएको र विपद् व्यवस्थापन गणसँग भएका उद्धार सामग्रीको प्रदर्शनीसमेत भएको गणले जनाएको छ । –(रासस)

Share.

Leave A Reply