गैडाकोट ४ मा बन्ने भयो वडा स्वास्थ्य चौकी । छिट्टै वडा कार्यालय पनि : वडा अध्यक्ष न्यौपाने

0

डोलराज रानाभाट, गैडाकोट, २५ मंसिर । नवलपुरको गैडाकोट नगरपालिका वडानम्वर ४ मा वडा स्वास्थ्य चौकी भवनको आज शिलान्यास गरिएको छ । गैडाकोट पम्पीङ स्कीम खानेपानी कार्यालय नजिकै रहेको पार्कमा भवन निर्माण गर्नेगरि आज शिलान्यास गरिएको हो । समाजसेवी टोलनाथ घिमिरेद्धारा शिलान्यास गरिएको भवन अवको ४ देखि ५ महिनाभित्र निर्माण सम्पन्न हुने वडा अध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

सुकुम्वासीहरुद्धारा अतिक्रमित हुन लागेको जग्गा मुकुन्दसेन प्रतिष्ठानले बचाएर राखेको र अहिले त्यसैमा कार्यालय निर्माण गरिने र अर्को वर्षसम्म वडा कार्यालय पनि निर्माण सम्पन्न गर्ने वडा अध्यक्ष न्यौपानेको दावी छ । कार्यालयको शिलान्यास पछि बोल्दै प्रमुख अतिथि घिमिरेले स्वास्थ्य कार्यालय निर्माणसँगै प्राथमिक उपचार सहित वालवालिका, ज्यष्ठ नागरिक सहित गर्भवती महिलाहरुलाई सहज तरिकाले स्वास्थ्य लाभ लिन मिल्ने बताउनुभयो । वडाअध्यक्ष सहित जनप्रतिनिधिहरुको पहलमा स्वास्थ्य भवन निर्माण हुन लागेको भन्दै सवैको सहयोग हुन आवश्यक रहेकोमा जोड दिनुभयो । मठमन्दिर, खानेपानी, लगायतका कार्यालय नजिक स्वास्थ्य कार्यालय हुँदा सेवा लिन पनि सहज हुने उहाँको भनाई थियो ।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष न्यौपानेले नेपाल सरकारको नीति अनुसार हरेक वडामा स्वास्थ्य चौकी हुने भनिएकोमा वडानम्वर ४ ले पनि भवन शिलान्यास गरेको र भवन निर्माणपश्चात जनताले सहज स्वास्थ्य सेवा पाउने बताउनुभयो। अर्को वर्षसम्म वडा कार्यालय पनि निर्माण गर्ने उहाँको दावी थियो । पार्क निर्माणका लागि अर्को ठाउँमा जग्गा व्यवस्थापन भइसकेकोले उक्त ठाउँमा भवन निर्माण गरीएको वडा अध्यक्ष कृष्ण न्यौपानेले बताउनुभयो ।

हरेक विकासका कार्यमा सर्वपक्षिय छलफलबाटै अघि बढेको भन्दै साथ र सहयोगका लागि सवैलाई अनुरोध पनि गर्नुभएको छ । गण्डकी प्रदेश सरकारबाट भवन निर्माणका लागि करिब ३६ लाख रुपैया विनियोजन भइसकेको र नाप नक्सा तयार भएका कारण भवन निर्माणले चाँडै पूर्णता पाउने वडा सदस्य तेजप्रसाद घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा नेकपाका जिल्ला सदस्य युवराज रिमाल, नेपाली काँग्रेसका वडा सभापति दामोदर तिवारी,जिल्ला प्रशासन कार्यालयका अधिकृत टिकाराम वाग्ले, गैडाकोट नगरपालिकाका सूचना अधिकारी प्रकासकिय अधिकृत लिलाधर पोखरेल सहित वडासदस्यहरु, समाजसेवी, स्थानीयको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply