न्यायिक समिति ९४ प्रतिशत विवाद मिलाउन सफल

0

माया कंडेल
गैंडाकोट । विवाद र झैझगडा मिलाउनमा गैंडाकोट नगरपालिकाको न्यायिक समिति प्रभावकारी देखिएको छ । न्यायिक समितिमा आएका निवेदनहरुमध्ये ९४ प्रतिशत विवाद मिलाउन सफल भएको छ ।
आर्थिक वर्ष ०७४÷०७५ मा २६ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये २५ वटा मुद्दाको मेलमिलाप भएको र एउटा मुद्दा अदालतमा पठाइएको थियो । त्यस्तै ०७५÷०७६ मा भने निवेदनको संख्या बढेर ७४ वटा निवेदन दर्ता भएको गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक विष्णुकुमारी कंडेलले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष ०७५÷०७६ मा ६९ वटा मेलमिलाप भएको बताउदै ५ वटा मुद्दा अझै प्रक्रियामा रहेको जानकारी दिनुभयो । समिति गएको २ वर्षमा ९४ प्रतिशत विवाद मिलाउन सफल भएको हो ।
आर्थिक वर्ष ०७६÷०७७ को हालसम्ममा न्यायिक समितिमा १८ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये न्यायिक समितिमार्फत ६ वटा मुद्दाको मेलमिलाप भएको छ । यस्तै ९ वटा मुद्दा वडामा पठाइएको र ३ वटा प्रकृयामा रहेको न्यायिक समिति संयोजक कंडेलले बताउनुभयो ।
न्यायिक समिति संयोजक कंडेलले पहिला कहाँ गएर उजुरी गर्ने भन्ने पक्षमा पूर्ण जानकारी नभएको हुनाले सुरुवातमा संख्या धेरै भएको बताउनुभयो । उहाँले न्यायिक समिति आएसँगै स्थानीयलाई सहज पनि भएको बताउनुभयो । विवादित दुबै पक्षलाई जित जितको अवस्थामा मेलमिलाप गराएर अगाडी बढेको हुनाले न्यायिक समितिप्रति स्थानीयको विश्वास पनि बढी रहेको उहाँले बताउनुभयो ।
गैंडाकोट न्यायिक समितिमा साँधसिमाना, घरपरिवारका विवाद, झगडा, श्रीमान्–श्रीमतीका बीचको विवाद, लेनदेनका विवादलगायतका विषयमा निवेदन दर्ता हुने गरेका छन् । न्यायिक समितिले आफ्नो क्षेत्राधिकारभित्र नरहेका केसहरुलाई अदालत र सम्बन्धित निकायमा पठाउने गरेको उहाँले बताउनुभयो । सकेसम्म समाजमा रहँदा विवाद नगरेकै राम्रो भन्दै उहाँले यदि विवाद भइहाल्यो भने जित जितको अवस्थामा न्याय दिलाउने मेलमिलाप विधि नगरपालिकामा रहेको बताउनुभयो । यदि आपूm अन्यायमा परेजस्तो लाग्छ भने नगरपालिकामा रहेको न्यायिक समितिमा सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply