झै–झगडामा मेलमिलाप प्रभावकारी, गैडाकोट नगरपालिकामा स्थापना भयो न्यायिक कक्ष

0

डोलराज रानाभाट, गैडाकोट, २० मंसिर । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको प्रवेशद्धारा बाट भित्र छिरेपछि आउँछ गैडाकोट नगरपालिका नगरकार्यपालिकाको कार्यालय । नयाँ बनेको भवनको भुँईतल्लामा शान्त र एकान्त ठाउँमा न्यायिक समितिको कार्यकक्ष छ । साना साना विवाद समेत अदालत गएर न्याय पाउने आशमा वर्षौँ पर्खनुपर्ने र खर्चिलो पनि भएको गुनासो जनताबाट बढेपछि स्थानीय सरकार संचालन ऐन २०७४ मै उप प्रमुखको संयोजकत्मा न्यायिक समिति बनाउनुपर्ने व्यवस्था गरेपछि गैडाकोट नगरपालिकामा छुट्टै कार्यकक्षको व्यवस्था गरिएको हो । स्थानीय तहको निर्वाचनपछि नै न्यायिक समितिले काम गर्न सुरु गरेपनि यसरी छुट्टै कार्यकक्ष स्थापना गरिएको भने धेरै भएको छैन । नगरभित्र रहेका सबै मेलमिलापक कर्ताहरुको पुरा विवरण सहित सजाइएको कार्यकक्षको भित्ता अनि बसेर आरामले छलफल गर्न मिल्ने गरी गरिएको व्यवस्थापनले विवादीत पक्षवीच छलफल र समाधान गर्न सहज हुँदै आएको न्यायिक समितिकी संयोजक एवम् गैडाकोट नगरपालिकाकी उप प्रमुख विष्णुकुमारी कडेँलले बताउनुभयो । स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ८ मा न्यायिक कार्य सम्बन्धी व्यवस्था रहेको छ । त्यसैको दफा ४७ को उपदफा (१) ले १३ वटा विषयका मुद्दालाई अदालतले जस्तै फैसला गर्न मिल्ने (विवादको निरुपण) व्यवस्था गरिदिएको छ भने उपदाफा २ मा ११ वटा विषयका मुद्दामा मेलमिलाप गर्ने व्यवस्था रहेको छ । यद्यपी नगरपालिकामा आएका दुवै प्रकृतिका मुद्दामा सकेसम्म मेलमिलापबाटै समस्याको समाधान गरी पठाएको कडेँलको भनाई छ ।

कार्यकक्षमा राखिएको मेलमिलापकर्ताको विवरण

उपदफा १ का मुद्दामा पनि आफूले दुवैजनाको जित जितको अवस्था बनाएर विवाद मिलाएको भन्दै उहाँले न्यायिक समिति गठनपछि स्थानीयले विना खर्च न्यायको अनुभूति गरेको बताउनुभयो । कार्यालयकी कर्मचारी गिता न्यूरेका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा २६ वटा निवेदन दर्ता भएको मध्ये २५ वटाको विवादमा मेलमिलाप गराइएको छ भने र एउटा मुद्दा अदालत पठाइएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा दर्ता निवेदन बढेर ७४ वटा पुग्यो त्यो मध्ये ६९ वटा मुद्दामा मेलमिलाप गराउन न्यायिक समिति सफल भएको र ५ वटा निवेदनको विवाद समाधान प्रकृयामा रहेको न्यूरेको भनाई छ । चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म १८ वटा निवदेनमध्ये ६ वटाको न्यायिक समितिमै विवाद मिलेको छ भने ९ वटा सम्वन्धित वडामा पठाइएको र ३ वटा प्रकृयामा रहेका छन् । चालु आर्थिक वर्षका निवेदनमा साँधकिल्लाको ५ वटा,अंशवण्डाको ३ वटा, श्रीमान श्रीमतीवीचको झगडाको २ वटा, जग्गा रोक्को १ वटा लगायतका निवदेन दर्ता भएको छ ।

अर्का कर्मचारी इश्वरी प्रसाद आचार्यका अनुसार पहिले केही समस्या रहेपनि अहिले व्यवस्थित कार्यकक्ष र सचिवालयमा कर्मचारीको निरन्रत व्यवस्थापनले प्रभवाकारी वन्दै गएको बताउनुभयो । मुख्य उद्देश्य नै विवादीत दुवै पक्षलाई जितको अनुभूति दिनुनै हो उहाँले भन्नुभयो त्यसमा गैडाकोट नगरपालिका सफल छ । मुद्दा दर्ता प्रकृया देखि विवाद समाधानसम्म गोपनियतलाई मुख्य ध्यान दिएर आफूहरुले छलफल गराउने बताउँदै अन्य नगरपालिकाको तुलनामा राम्रो नतिजा दिइरहेको बताउनुभयो । क्षेत्राधिकार भन्दा वाहिरको मुद्दा पनि आउने गरेको र त्यसको समाधानका लागि उपयुक्त सुझावहरु आफूहले दिने गरेको बताउनुभयो । उपप्रमुख कडेँलले निवेदन दर्ता देखि छलफल गर्ने वातावरणलाई सहज बनाउँदै छिट्टो न्याय दिन आफूहरु सदैव सक्रिय रहेको बताउनुभयो ।

स्थानीय सरकार संचाल ऐन २०७४ ले दिएका विषयहरु 

Share.

Leave A Reply