बालमैत्री वडा बनाउन सचेतीकरण

0


गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं. ८ लाई बालमैत्री वडा बनाउने उद्देश्यका साथ विजय विकास स्रोत केन्द्रले टोलवासीलाई सचेत गराएको छ ।

सोमबार विजय विकास स्रोत केन्द्रको चेतना सदनमा वडास्तरीय सचेतीकरण कार्यक्रम गरिएको हो ।
वडा नं ८ भित्र रहेका ९ वटा टोल विकास संस्थाहरुमध्ये ३ वटा टोलहरु त्रिदेव, सिद्धिविनायक र उज्ज्वल टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरु तथा टोलस्तरीय महिला समूह सञ्जालका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा भएको उक्त सचेतीकरण कार्यक्रममा बाल अधिकार, बालमैत्री घोषणका लागि पूरा हुनुपर्ने सूचकाङ्कहरुका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका वडा नं. ८ का वडा सदस्य बालकृष्ण अधिकारीले बालमैत्री वडा निर्माण अभियानमा वडाभित्रका सबै व्यक्तिहरुको सक्रिय सहभागिता भएमा अपेक्षित समयभित्र नै यस वडालाई बालमैत्री घोषणा गर्न सकिने बताउनुभयो । उहाँले बालमैत्री वडा निर्माणका लागि सबैको सक्रिय सहभागिताका लागि अनुरोधसमेत गर्नुभएको छ । कार्यक्रममा टोलवासीहरुले वडालाई बालमैत्री बनाउन आफ्नातर्फबाट सक्दो प्रयास गर्ने समेत बताएका थिए । विजय विकास स्रोत केन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा वडाका तीनओटा टोल विकास संस्थाबाट ४५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विजय विकास स्रोत केन्द्रका प्रेमप्रसाद सापकोटा ‘राजु’ र बद्री लम्सालले गर्नुभएको थियो ।
गैंडाकोट नगरपालिकाको वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासन सञ्चालनार्थ बालमैत्री वडा घोषणाको आधार निर्माणका लागि गैंडाकोटकै प्रतिष्ठित सामाजिक विकासमा क्रियाशील विजय विकास स्रोत केन्द्र (भिडिआरसी) र गैंडाकोट नगरपालिकाबीच सम्झौता भएसँगै विविध क्रियाकलाप सञ्चालन भइरहेका छन् । केन्द्रले वडालाई बालमैत्री स्थानीय शासन सञ्चालनार्थ बालमैत्री वडा घोषणाको आधार निर्माणका लागि सामाजिक परिचालन, जनचेतना अभिवृद्धि, बालबालिकाको स्थिति–पत्र तयार गर्ने लगायतका कामलाई अघि बढाएको छ ।
केन्द्रले वडास्तरीय अभिमुखीकरण, वडा समिति गठन, बालमैत्री नीति रणनीति तयारीका लागि कार्ययोजना तर्जुमा, सूचकहरुको स्थानीयकरण, बालबालिकाको वस्तुगत विवरण तयारी, तथ्याङ्क सङ्कलन, प्रतिवेदन तयारीलगायतका कार्य गरिरहेको छ ।

Share.

Leave A Reply