श्रीवैष्णव युवा परिषद्ले रजतजयन्ती मनाउँदै

0


जगन्नाथ उपाध्याय
नवलपुर । श्रीवैष्णव युवा परिषद् नेपालको रजत जयन्ती वर्षको शुभारम्भको अवसर पारेर श्रीगजेन्द्र मोक्ष दिव्यधाम त्रिवेणी नवलपुरमा आयोजना गरेको द्विदिवसीय कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ । मंसिर १३ र १४ गते त्रिवेणी धाममा संचालित कार्यशाला गोष्ठीमा श्रीवैष्णव युवा परिषद्का पूर्व अध्यक्ष डा. रघुनाथ नेपालले श्रीसम्प्रदाय र विशिष्टाद्वेत दर्शन सम्बन्धी २० पृष्ठको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा सम्प्रदायधारा र दर्शनधारा गरी दुइ विषयलाई समावेश गरिएको थियो । दुवै विषयमा ५० जिल्लाबाट सहभागि २ सय जना युवाहरु एवं विशिष्ट विद्वान प्राध्यापकहरुको सहभागिता गहन विचार विमर्श भएको थियो । विशिष्टाद्वेत दर्शन अर्थात् रामानुज दर्शनका बारेमा चिन्तन गरिएको थियो ।
उक्त कार्यशाला गोष्ठीमा वर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले सांगठनीक कार्यपत्र एवं रजत जयन्ती वर्ष कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा संस्थागत ऐतिहासिक पृष्ठभूमि, सांगठनिक स्वरुप एवं रजत जयन्ती सन्दर्भ समावेश गरिएको थियो । कार्यशाला गोष्ठीले सरल भाषमा विशिष्टाद्वेत दर्शन सम्बन्धी प्रशिक्षण पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको छ । जसको संयोजकमा युवा परिषद्का पूर्व अध्यक्ष डा. रघुनाथ नेपाललाई जिम्मेवारी प्रदान गरेको छ । त्यसैगरी संगठन विस्तार संयोजकमा वर्तमान उपाध्यक्ष विष्णु अधिकारी, रजतजयन्ती कार्यक्रम व्यवस्थापन संयोजकमा वर्तमान महसचिव रामानुज नेपाल, पूर्णकालिन कार्यकर्ता व्यवस्थापन संयोजकमा सञ्चारकर्मी नारायण सापकोटा, अनलाइन रामानुज सन्देश पत्रिका प्रकाशनको संयोजकमा वर्तमान कोषाध्यक्ष वेदप्रसाद आचार्य र पूर्व महासचिव जगन्नाथ उपाध्यायलाई सदस्यको जिम्मेवारी कार्यशाला भेलाले प्रदान गरेको छ । आयमूलक एवं क्षमता विकास तालिम व्यवस्थापन संयोजकमा केन्द्रीय सदस्य अलका पाण्डेलाई मनोनयन गरेको छ ।
कार्यक्रममा श्रीवैष्णव परिषद्का केन्द्रीय अध्यक्ष स्वामी श्री देवराजाचार्य महाराज, श्रीवैष्णव युवा परिषद्का संस्थापक अध्यक्ष मुक्तिनाथ पीठाधिश्वर मुक्तिनाथ बाबा कमलनयनाचार्य स्वामी लगायत नेपालका विभिन्न मठका मठाधिश, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहेको थियो । उक्त कार्यशाला गोष्ठी श्रीवैष्णव युवा परिषद्का अध्यक्ष स्वामी ऋषिप्रपन्नाचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply