सडकले सकस, आशै आशमा वित्यो जिन्दगी

0


माया कंडेल
गैंडाकोट । बिरामी हँुदा, सुत्केरी व्यथा लाग्दा अस्पताल चाँडो पु¥याउनका लागि एम्बुलेन्स र सवारी आवश्यक पर्छ । तर बाटोको राम्रो सुविधा नहँुदा भने गैंडाकोट १८ का धेरै व्यक्ति समयमै अस्पताल पुग्न सक्दैनन् । गैंडाकोट १८ आहालेकी मनकुमारी रानाले यस्तै नमिठो घटना भोग्नुपरेको छ । बाटो अफ्ठ्यारो भएपछि एम्बुलेन्स पनि गाउँमा पुग्न सक्दैन । गाउँका गाडी गैंडाकोटको तल्लो भेगमा आए भने अलिकति पानी पर्दा पनि माथी जान नसक्ने हुन्छ । यसले सुत्केरीको र बिरामीको अकालमै ज्यान जाने गरेको छ । उहाँले गाउँकै ठुलो समस्या भनेको नै सहज बाटो नहुनु भएको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो– “गाउँमा धेरै गाडी छैन भएको गाडी पनि समयमा हिंड्दैन, गाउँमा सुत्केरी गराउने ठाउँ पनि छैन् । गाडीमा लैजाउ भने बाटो सजिलो छैन धेरै गाह्रो छ ।” सबैभन्दा पहिले गाउँमा बाटो सहज बनोस् भन्ने चाहाना व्यक्त गर्दै उहाँले बाटोका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने कामना गर्नुभएको छ ।
गैंडाकोट १८ मा सडककै कारण स्थानीयले सकस भोग्नुपरेको छ । पूर्व पश्चिम राजमार्गदेखी १२÷१३ किलोमिटरको मात्रै दुरी रहेको गैंडाकोट १८ मा पुग्न सडककै कारण निकै गाह्रो छ । कारण हो – बाटोको सुविधा नहुनु । बाटो सुबिधा नभएपछि दैनिकी गुजार्न निकै गाह्रो हुने गरेको स्थानीयको भनाई छ । कोही बिरामी भएर अस्पताल लैजान गाडी बोलाउदा पनि ४ हजार ४५ सय त गाडीको नै खर्च लाग्ने गरेको दमार टोल विकास संस्थाका अध्यक्ष चुम बहादुर चीतौरे मगरले बताउनुभयो ।
उहाँले भन्नुभयो –“बर्खामा बाटो हिलो हुन्छ अनि हिउँदमा धुलो हुन्छ बाटो राम्रो छैन् जसले गर्दा पछाडी परेका छौँ । तत्काल बिरामी परेर अस्पिटल जानु परेमा गाडीको व्यावस्था छैन । बल्लबल्ल गाडी खोजेर बिरामी लान प¥यो भने ४५ सय गाडी भाडा लाग्छ ।”
बाटो नभएको हैन कच्ची र गोरेटो बाटो छ । यहि बाटो पनि हिउँदमा धुलौधुलो र बर्खामा हिलै हिलो हुने भएकाले समस्या हँुदै आएको गैंडाकोट १८ का लालसिंह सारु मगरले बताउनुभयो । बर्खामा त गर्भवती महिला पहिले नै गैंडाकोटको तल्लो भेगमा आफन्तकोमा आएर बस्नुपर्ने बाध्यता छ ।
उहाँले भन्नुभयो –“गाउँमा हस्पिटल छैन् बिरामी भएपछि जाउ भने बाटो राम्रो छैन् । सामान्य बिरामी हुन लाग्यो भने पनि पहिले नै भेडाभारी लगायत तल्लो भेगमा गएर आफ्नो आफन्तकोमा बस्नु पर्छ ।”
सहज बाटो नहँुदा बिरामी अस्पताल जान मात्र समस्या छैन । त्यहाँ उत्पादन भएका कृषि सामग्री खाद्यान्न पनि बिक्रीका लागि ल्याउन कठिन छ । गाडी धकेल्दै उत्पादित सामग्री ल्याउँदा जोखीम पनि मोल्नु परेको गैंडाकोट १८ का तिलबहादुर माप्छन मगर तिलकको दुखेसो छ । उहाँले भन्नुभयो – “गाउँमा राम्रो केरा खेतीको सम्भावना छ तर बजारीकरणको भने व्यवस्था छैन् अनि बजार बेच्न आफै लैजाउ त बाटो को सकस छ । बर्खामा त डराईडराई यात्रा गनुपर्छ कति पटक त हिंड्दा हिंड्दैको गाडी फसेर धकेल्नु पर्छ । २०७२ सालमा ट्रयाक्टर दुर्घटना हँुदा १ जनाको ज्यान गयो भने २०६४ सालमा पनि यस्तै घटना घटेको थियो । सानासाना घटना त भई रहन्छ ।” बेलैमा सबै सचेत बनेनन् भने गैंडाकोट १८ का स्थानीयले पछि सम्म पनि दुख पाउने अवस्था आउने उहाँको भनाई छ । बाटो बन्ला भन्ने आशै आशमा बसेको स्थानीयले बताएका छन् ।
गैंडाकोट १८ का वडा अध्यक्ष तिल बहादुर चितौरेले भने बाटो बनाउने प्रदेशको नै योजना रहेको बताउनुभयो । प्रदेशको योजना भएपनि काम भने शुरु नभएको उहाँले बताउनुभयो । भेडाबारीदेखी बुलिङटार जाने बाटो बनाउनको लागी प्रदेशको योजना परेको वडा अध्यक्ष चितौरेले बताउनुभयो । पहिले तिन मिटरको बाटो पिच शुरु भएको उहाँको भनाई छ । टेन्डर परेर ३ मिटरको बाटो पिच भएपनि अहिले भने काम रोकीएको अध्यक्ष चितौरेले बताउनुभयो । बाटो बनाउनको लागी ६ करोड प्रदेशबट बजेट परेपनि काम भने शुरु हुन नसकेको उहाँको भनाई छ । यसका लागि पहल भईरहेको उहाँले बताउनभएको छ ।

Share.

Leave A Reply