गैंडाकोटमा ३५ हेक्टर वढि रुख कटान ,विकासले वन क्षेत्र विनास भएको भन्दै चिन्ता

0

प्रेम क्षेत्री,गैंडाकोट । विकास निर्माण कार्यले वन क्षेत्र विनास भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विद्युत तथा सडक विस्तार कार्यले वन क्षेत्रका बोटविरुवा कटान भईरहेका छन् । सडक विस्तारले सहज यात्रा र विुद्यत विस्तारले उज्यालो नेपालको अभियान पुरा हुने भएपनि यी विकास कार्यले वन विनास भएको छ ।

  • विद्युत विस्तारका क्रममा ५४ हजार वढि क्युफिट काठ कटान

  • सडक विस्तारका लागि ३२ सय १८ बोट छपान

  •  नियमिततर्फ ३० हजार वढि क्युफिट काठ कटान

  • वन पैदावर आपुर्ती र उपभोगमा चुनौती

गैंडाकोट क्षेत्रमा नियमित रुपमा वार्षिक स्विकार्य, २२० केभी विद्युत प्रसारण लाईन आयोजना र नारायणगढ बुटवल सडक विस्तार आयोजना अन्तर्गतका रुख छपान तथा कटान भएका छन् ।
२२० केभी विद्युत प्रसारण लाईन विस्तारका क्रममा गैंडाकोटमा ३५.६४ हेक्टर क्षेत्रफलबाट रुख कटान भएको छ । गैंडाकोट नगरपालिका क्षेत्रमा रहेका ८ वटा सामुदायिक वनको ३५.६४ हेक्टर क्षेत्रफलको रुख कटान भएको हो । गैंडाकोट क्षेत्रबाट ८ वटा सामुदायिक वनको ३५.६४ हेक्टर क्षेत्रफलबाट ५४ हजार ४ सय ३८ दशमलव ७३ क्युफिट काठ र ४ सय ५७ दशमलव ५ चट्टा दाउरा कटान भएको सव डिभिजन वन कार्यालय गैंडाकोटका सहायक वन अधिकृत ज्योतीप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
सव डिभिजन वन कार्यालय गैंडाकोटका अनुसार मौलाकाली वनबाट ९ हजार १ सय ८२ दशमलव ५७ क्युफिट काठ, ७६ चट्टा दाउरा, जयश्री वनबाट ५ हजार ५५ दशमलव ३६ क्युफिट काठ, ८० चट्टा दाउरा र नन्दन वनबाट ७ हजार ५ सय ६० दशमलव ६८ क्युफिट काठ, १२० चट्टा दाउरा कटान भएको छ । त्यस्तै सबैभन्दा वढि नारायणी वनबाट १८ हजार ६ सय ९१ दशमलव ९८ क्युफिट काठ र ६५ चट्टा दाउरा कटान भएको छ । त्यसैगरि मुकुन्दसेन वनबाट ९ हजार ८ सय २६ दशमलव ५ क्युफिट काठ, ७१ दशमलव ५ चट्टा दाउरा, भेडावारी वनबाट ३ सय ६१ दशमलव ५४ क्युफिट काठ, १६ चट्टा दाउरा, सुन्दरी वनबाट ३ हजार ४ सय ६६ दशमलव ६ क्युफिट काठ, २९ चट्टा दाउरा र शित्तल वनबाट २९३ दशमलव ५ क्युफिट काठ कटान भएको छ ।
यी क्षेत्रमा रहेका सामुदायिक वनहरुले कटान भएको विद्युत प्रसारण लाइनको तल साना जातका अमिलो, बेत, अम्रिसो लगायतको खेतीको तयारी गरिरहेका छन् ।
गैंडाकोटमा रहेका २३ वटा सामुदायिक वनमध्ये नियमिततर्फको उत्पादन एवम् वार्षिक स्विकार्यतर्फ ३० हजार २ सय ३३ दशमलव ६ क्युफिट काठ र ४८ दशमलव ६ चट्टा दाउरा कटान भएको सव डिभिजन वन कार्यालय गैंडाकोटका सहायक वन अधिकृत कोइरालाले जानकारी दिनुभयो । सामुदायिक वनको कार्ययोजना अनुसार ढलापडा र सुखडखडा रुख नियमित कटान हुने गरेको उहाँले बताउनुभयो । केही सामुदायिक वनले भने रुख कटान नगरेको उहाँको भनाई छ । वैज्ञानिक वन व्यवस्थापनमा रहेका सामुदायिक वनको काठ दाउराको पुर्व अनुमान भने गरिएको छैन ।
गैंडाकोट नगरपालिकाको १५ हजार ९ सय ९३ हेक्टर क्षेत्रफलमध्ये ९ हजार ७ सय ३३ हेक्टर क्षेत्रफलमा वन फैलिएको छ । यहाँ २३ वटा सामुदायिक वन, ४ वटा धार्मिक वन, २२ वटा कवुलियत वन रहेका छन् । अन्य राष्ट्रिय वन र मध्यवर्ती क्षेत्र पर्दछ । केही सामुदायिक वन भने निस्क्रिय रहेका छन् ।
नारायणगढ बुटवल सडक विस्तार आयोजना अन्तर्गत गैंडाकोटमा रुख छपान भईरहेको छ । २ वटा सामुदायिक वन र २ वटा धार्मिक वनमा छपानको कार्य चलिरहेको सव डिभिजन वन कार्यालय गैंडाकोटका सहायक वन अधिकृत ज्योतीप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गैंडाकोटमा ५ ईन्च व्यास माथिका २ हजार ६ सय १८ र ५ ईन्च मुनिका ६ सय बोट छपान भएका छन् । साल, असना, कर्मा, जामुन, सिसौ, टिक लगायतका बोट कटान हुने उहाँले बताउनुभयो ।

सव डिभिजन वन कार्यालय गैंडाकोटका वन रक्षक ईन्दु क्षेत्रीका अनुसार नारायणी सामुदायिक वनमा १ हजार ७१ वटा रुख छपान भएका छन् । त्यस्तै मुकुन्दसेन वनमा ८ सय २८ वटा, हनुमान मन्दिर धार्मिक वनमा ७ सय १२ र सिद्धिदात्री कोटिहोम धार्मिक वनमा ७ वटा रुख छपान भएका हुन् । यस क्षेत्रबाट ११ हजार ६ सय १८ दशमलव ५५ क्युफिट काठ छपान मुल्याङ्कन गरिएको उहाँले जानकारी दिनुभयो । हालको राजमार्गको सेन्टरदेखी दक्षिणतर्फ २० मिटर र उत्तरतर्फ १५ मिटरको दुरीमा छपान भएको छ । कटान हुने यस क्षेत्रको क्षेत्रफल भने निक्र्यौल गर्न बाँकी रहेको छ ।

यस क्षेत्रमा कटान भएका काठ दाउरा सामुुदायिक वनहरुले केही बिक्रि गरिसकेका छन् भने केहीले बिक्रिको तयारी गरिरहेका छन् । अन्य समयको तुलनामा गैंडाकोट नगरपालिका क्षेत्रका सामुदायिक वनहरुको वन पैदावर आपुर्ति यतिवेला थप चुनौतीका रुपमा देखिएको छ ।

सामुदायिक वनहरुले उपभोक्ता समुहमार्फत पारदर्शीरुपमा बिक्रि गरिरहेको र गर्ने बताएपनि उपभोगका विषयमा चुनौती थपिएको स्वयम् उपभोक्ताहरुले बताएका छन् । अन्य समयमा भन्दा यसपटक काठ दाउरा वढि कटान भएका कारण पनि थप चनाखो बन्नुपर्ने देखिएको हो । वन पैदावरमा हुन सक्ने चलखेल रोक्न अनुगमनलाई पनि तिव्रता दिईएको छ । २२० केभी विद्युत् प्रसारण लाइनमा कटान गरेका काठको आपूर्ति मूल्य कम तोकिएका कारण यसमा हुन सक्ने चलखेललाई नियमन गर्न उपभोक्तालाई सचेत गराउँदै समेत आएका छन् । उनिहरुले बन रक्षक खटाउनेदेखी सिसि क्यामेराको निगरानीमा राखेका छन् । बिक्रि भईसकेको काठ दाउरा उपभोक्ताले उपभोग गर्नेमा थप चुनौती देखिएको हो ।

उपभोक्ताहरुले वन पैदावरमा चलखेल हुन सक्ने भन्दै अनुगमनलाई प्रभावकारीरुपमा लैजानुपर्ने जोड दिएका छन् । सब डिभिजन वन कार्यालय गैंडाकोटका सहायक वन अधिकृत ज्योतिप्रसाद कोइरालाले बिक्री गर्न लागिएको काठको सही सदुपयोग गर्न आग्रह गर्दै यसमा उपभोक्ता पनि सक्रिय बन्नुपर्ने बताउनुभयो । वन पैदावर विक्री वितरण र यसको सही सदुपयोगतर्फ उपभोक्ता सचेत बन्नुपर्ने देखिएको छ ।

Share.

Leave A Reply