विद्यालय सञ्चालकमाथी ट्राफिकको निगरानी, नियम उल्लंघन गर्नेलाई नछाडिने

0


प्रेम क्षेत्री
मंसिर ११, गैंडाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गैंडाकोट नगरपालिका अन्तर्गतका सवारीसाधन (बस, भ्यान) सञ्चालन भएका विद्यालयका सञ्चालकहरुलाई ट्राफिक नियम कानुन पालना लगायतका विषयमा सचेत गराएको छ ।
गैंडाकोट नगरपालिकाको कार्यालयमा गैंडाकोट नगरपालिका अन्तर्गतका सवारीसाधन (बस, भ्यान) सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक तथा सञ्चालहरुलाई बोलाएर यस विषयमा सचेत गराएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को समुदाय प्रहरी साझेदारी अन्तर्गतको छलफल कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरिक्षक मुनेन्द्र थापाले विद्यार्थी ओसारपसार गर्दा ट्राफिक नियम पालना गर्न सचेत गराउनुभएको हो । शिक्षाजस्तो वुद्धिजिवी सर्कलमा रहेकाहरुबाट ट्राफिक नियम पालना हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले अभिभावकहरु पनि यस कार्यमा सचेत हुनुपर्ने बताउनभएको छ । ट्राफिक नियम उल्लंघन गर्ने बस तथा चालकलाई कुनै हालतमा नछाडिने उहाँले चेतावनी समेत दिनुभएको छ । सो अवसरमा विद्यालय सञ्चालक एवम् प्रधानाध्यापकहरुले सो कार्य स्वागतयोग्य रहेको जनाउँदै अवस्थाबारे अवगत गराएका थिए ।


गैंडाकोट नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बालकृण्ण चापागाईको अध्यक्षतामा भएको छलफलबाट बस वा अन्य यातायातका साधनमा सीट क्षमता भन्दा बढि विद्यार्थी राखेर नचलाउने सहमती गरेका छन् । त्यस्तै तोकिएको रङ्ग लगाईएका वा व्यानर भएको गाडीबाट मात्र विद्यार्थी ओसार पसार गर्ने, तोकिएको स्थानमा मात्र विद्यार्थी ओराल्ने र चढाउने कार्यमा सहमत भएका छन् । त्यस्तै तोकिएको योग्यता भएका व्यक्तिहरुबाट मात्र चालक, सहचालकको व्यवस्थापनबाट यातायात सञ्चालन गर्ने र विभिन्न स्थानमा ट्राफिक संकेतहरुको व्यवस्था गर्नुपर्ने विषयमा सहमती जुटेको छ ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक दिपक कार्की, शिक्षा शाखा अधिकृत मोतीप्रसाद रिजाल लगायत नगरपालिका क्षेत्रका विद्यालय सञ्चालक एवम् प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply