उपनिर्वाचन २०७६ : तयारी तीव्र, दलहरु घरदैलोमा, आज रातिदेखि मौन अवधी

0

बौदीकाली, ११ मङ्सिर / नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ ।

निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्रलगायत सामग्री आइपुगेको छ । निर्वाचन सामग्री सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । दलहरुले प्रचार–प्रसार शान्तिपूर्णरूपमा गरिरहेको र निर्वाचनको तयारी सौहार्दपूर्णरूपमा चलिरहेको अधिकारीले बताउनुभयो ।

मतदान हुने वडामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना गरी ४५ जना खटाइने उहाँले उल्लेख गर्नुभयो । निर्वाचन हुने वडा र त्यस आसपासको क्षेत्रमा प्रशासनले मङ्सिर १२ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । वडा नं ५ को निर्वाचन हुने स्थानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसमेत खटाइएको अधिकारीले बताउनुभयो । बौदीकाली–५ मा ८५३ मतदाता रहेका छन् ।

बौदीकाली–५ स्थित उदय आधारभूत विद्यालय जौबारीलाई मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका निर्वाचन अधिकारी सुदीप पाण्डेले जानकारी दिनुभयो । मतदातालाई सही तरिकाले मत खसाल्न जानकारी दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसअघि स्थानीय तहको निर्वाचनमा यहाँ ८०१ मतदाता थिए । वडाध्यक्षका लागि तीन उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । वडाध्यक्ष पदका लागि नेकपाका खिमबहादुर थापा खरुमगर र काङ्ग्रेसका तुलबहादुर राना उम्मेदवार रहनुभएको छ । उनीहरु नाताले मामा भान्जा हुन् । नेकपाका उम्मेदवार खिमबहादुरले १५ बुँदे घोषणापत्र जारी गरी घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ ।

नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाका अनुसार पार्टीका सबैजसो नेता प्रचारप्रसारमा जुटेका छन् । काङ्ग्रेसले पनि निर्वाचनका लागि घरदैलो अभियानलाई तीव्र पारेको छ । सांसद तथा जिल्लाका नेतासमेतको टोली घरदैलो अभियानमा जुटेको काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछानेले बताउनुभयो ।

उप निर्वाचनका लागि आज रातिदेखि मौन अवधी सुरु हुँदै 

मंसिर १४ गते हुने उपनिर्वाचनमा मत आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् । आज दलहरुले अन्तिम कार्यक्रम गर्दैछन् । उप निर्वाचनका लागि आज रातिदेखि मौन अवधी सुरु हुँदैछ ।

उपनिर्वाचनमा १ सय १ दलले भाग लिंदैछन् । प्रतिनिधी सभाको एक, प्रदेशसभाको तीन र स्थानीय तहका गरी ३७ जिल्लाको ५२ स्थानमा १४ मंसिरमा उप निर्वाचन हुँदैछ । प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य ९५ र स्थानीय तहमा ७८ उम्मेद्वारले चुनावमा भाग लिएका छन् ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या चार लाख ५४ हजार १ सय १४ छ । मतदानका लागि दुई सय ४७ मतदान स्थल र पाँच सय ३७ मतदान केन्द्र तोकिएको छ । यसपटक आचारसंहिता उल्लघंनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

Share.

Leave A Reply