लैङ्गिक हिंसाविरुद्धकोे अभियान शुरु   

0

रुपन्देही, ९ मङसिर (रासस) ः प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आयोजनामा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बुटवलको पुष्पलाल पार्कमा गरिएको दीप प्रज्वलन । तस्वीर ः निरा गौतम

– निरा गौतम रुपन्देही, ९ मङ्सिर (रासस) ः
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ । “समानताको पुस्ता ः बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मूलनारा यहाँका स्थानीय तहले पनि अभियानको थालनी गरेका छन् । रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना, देवदह र सिद्धार्थ नगरपालिकाले औपचारिक कार्यक्रम गरी अभियानको शुरुवात गरेका छन् ।

यहाँका अधिकांश स्थानीय तहले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धतासहित औपचारिक कार्यक्रम गरेर अभियानको शुभारम्भ गरे । अभियानका क्रममा रुपन्देहीका नगरपालिका र गाउँपालिकाले सचेतनाका कार्यक्रमलाई बढी जोड दिएका छन् ।

व्यक्तिको सोच परिवर्तन नहुँदासम्म हिंसा नियन्त्रणमा समस्या रहेकाले पहिलो प्राथमिकता सचेतनामूलक कार्यक्रमलाई दिइएको छ । ‘समानताको पुस्ताः बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नारासहित जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएकाले यस वर्षको नारा बलात्कार केन्द्रित बनाइको हो ।

बुटवल उपमहानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गरेको छ । अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसा नियन्त्रणका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

हिंसामुक्त बुटवल शहर निर्माणका लागि परिवार, विद्यालय र समुदायमा सचेतना फैलाउने काम भइरहेको भन्दै उहाँले यसका लागि सबै प्रतिबद्ध भएर सहयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयलाई लैङ्गिकमैत्री बनाउन बुटवल उपमहानगरपालिकाले आज विद्यालयका प्रधानाध्यापकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले विद्यालयमा स्वतन्त्र र भयरहित वातावरण सिर्जना गरी बालबालिका तथा किशोरकिशोरीको पठनपाठनलाई प्रभावकारी बनाउन लैङ्गिकमैत्री विद्यालय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले विद्यालयमा हुनसक्ने हिंसाका घटना रोक्न सचेतना आवश्यक रहेको बताउनुभयो । लैङ्गिकमैत्री विद्यालय सम्बन्धमा प्रस्तुतीकरण गर्दै सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्याल र शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले परिवार, विद्यालय र समाजमा लैङ्गिकमैत्री वातावरण निर्माणका लागि सोच, प्रवृत्ति र व्यवहार सुधार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयमा बालबालिकाले खुलेर आफ्ना समस्या राख्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अन्तक्र्रिया कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको अभियानको शुरुवात गरेको छ । परिवर्तनको शुरुवात आफैंबाट गरौं भन्ने मानसिकताका साथ नगरका कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन नगरपालिकाको कार्यालयबाटै कार्यक्रम गरेर अभियानको थालनी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम आर्यालले बताउनुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज कार्यालयमा हस्ताक्षर सङ्कलन गरेको छ । हिंसा अन्त्यका लागि प्रतिबद्धतासहित कार्यालयमा ब्यानर राखेर हस्ताक्षर सङ्कलन गरिएको उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।

नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको अभियानका अवसरमा मङ्गलबारदेखि १७ वटै वडामा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । नगरका सबै वडामा लैङ्गिक हिंसा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको उपप्रमुख चौधरीले बताउनुभयो ।

यस्तै १६ दिने अभियानका क्रममा सैनामैना नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि हस्ताक्षर सङ्कलन गरेको छ । हिंसा अन्त्यका लागि नगरवासीलाई प्रतिबद्ध बनाउन हस्ताक्षर सङ्कलन गरिएको उपप्रमुख बिना रानाले जानकारी दिनुभयो । कार्यक्रममा सरोकारवालाले “म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्नेछु” भन्ने प्रतिबद्धता जनाएका थिए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा रुपन्देहीको देवदह नगरपालिकाले प्रभातफेरी निकालेको छ । प्लेकार्डसहित देवदहको खैरेनीचोकबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गरी शीतलनगरमा पुगेर सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा विभिन्न सङ्घ संस्था, किशोरी समूह, आमा समूह, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको नगरका उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिनुभयो । सोह्र दिने अभियानका क्रममा देवदह नगरपालिकाले सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ । अभियानका क्रममा शङ्करपुरमा सडक नाटक प्रदर्शन, महिला सशक्तीकरण तालीम आयोजना गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।

जिल्लामा अन्य नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरुवात गरिरहँदा लुम्बिनी सांस्कृतिक नगरपालिकाले भने कुनै योजना नै बनाएको छैन् । कर्मचारी अभावका कारण नगरपालिकाले कुनै योजना बनाउन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिनुभयो ।

“सामाजिक विकास शाखामा एउटा कर्मचारी छैन, न अरु शाखामा काम गर्ने कर्मचारी छन्, कसरी कार्यक्रम गर्ने ? उहाँले भन्नुभयो, ‘‘कर्मचारी अभावले नगरका गतिविधि अगाडि बढाउन समस्या छ ।” अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको परिचयपत्र समेत वितरण गर्न नसकिएको गुनासो गर्दै उहाँले जनताको भार थेग्न नसकेका कारण कार्यालयमा ताला लगाएरै हिँड्नुपर्ने परिस्थिति सिर्जना भएको गुनासो गर्नुभयो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत रुपन्देहीका गाउँपालिकाहरुले पनि चेतनामूलक कार्यक्रम गर्ने जनाएका छन् । सियारी गाउँपालिकाले प्रत्येक वडामा कानूनी सचेतनाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको गाउँपालिकाका उपप्रमुख अमृता गुरुङले जानकारी दिनुभयो । कानूनका विषयमा स्थानीयवासीलाई बुझाउन जरुरी रहेकाले यस वर्षको अभियान कानूनी साक्षरतामा केन्द्रित गरेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply