विजय सामुदायिक शिक्षा सहकारीको साधारण सभा, जीवनउपयोगी व्यवहारिक शिक्षामा जोड, शिक्षा निति नबन्दा कठिनाई : नगर प्रमुख पौडेल

0


माया कंडेल
गैंडाकोट । विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित विजय सामुदायिक शिक्षा सदनले जीवनउपयोगी व्यववहारिक शिक्षामा जोड दिएको छ । शनिबार १९ औं साधारण सभामा बोल्ने वक्ताहरुले गैंडाकोट नगरको शैक्षिक विकासमा विजय सामुदायिक शिक्षा सदनको महत्वपूर्ण योगदान रहेको औंल्याएका थिए ।
विजय सामुदायिक शिक्षा सदन गैंडाकोट ५ को सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले संघ, प्रदेश र स्थानीय तहमा शिक्षा नीति नबन्दा नगरपालिकालाई काम गर्न कठिनाई भएको बताउनुभयो । अहिले शिक्षा नीति नबन्दा शिक्षाको विकासमा कठिनाई भएको उहाँको भनाई थियो । नगर प्रमुख पौडेलले अब बन्ने शिक्षा नीति व्यवहारिक र सिपमूलक बनाउन नसके राज्यले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारामा मात्र सिमित हुने बताउँदै व्यवहारिक शिक्षा नै आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले शैक्षीक उन्नती र जनशक्ती निर्माणका लागि कठोर नीति लिएर भएपनि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नगरको शिक्षा नीति र कार्यबिधि बनाउँदा सरोकारवालाको सुझाव लिएर अगाडी बढ्ने बताउनुभयो । शैक्षिक विकासमा विजय सामुदायिकको योगदान अतुलनिय रहेको उहाँको भनाई छ ।


कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी कंडेलले शिक्षा विकास नै नगरको विकास भएकाले शिक्षा ऐन नबाझिने गरेर बनाउनुपर्ने बताउनुभयो । उहाँले आजको आवश्यकता भनेकै जीवनउपयोगी शिक्षा भएको बताउनुभयो । साथै उहाँले विजय सामुदायिक शिक्षा सदनले गुणस्तरीय संगै जीवनउपयोगी शिक्षा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न सुझाव दिनुभयो ।


कार्यक्रममा आर्थिक वर्ष ०७५÷०७६ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थीक वर्ष ०७६÷७७ का लागि प्रस्तावित कार्यक्रमहरु सचिव लक्ष्मण कंडेलले प्रस्तुत गर्नुभएको थियो । उहाँले विजय सामुदायिक शिक्षा सदनले शिक्षण सिकाइमा नयाँ पद्धतिको खोज तथा प्रयोग गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयमा आवश्यकता अनुसार स्नातक तह सञ्चालन गर्नुपर्ने र यसका लागि आवश्यक पूर्वाधार तयार गर्दै अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष ०७५÷०७६ को आर्थीक विवरण तथा आर्थिक वर्ष ०७६÷७७ को प्रस्तावित बजेट कोषाध्यक्ष परमेश आचार्यले प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयको भौतिक पूर्वाधार निर्माण, जग्गा थप र आवश्यक शैक्षीक सामग्रीको थप गर्दै जाँदा संस्था आन्तरिक रुपमा मजबुत हँुदै गएको बताउनुभयो । उहाँले यसवर्ष १५ प्रतिशतले सेयरपुँजी वृद्धि भई ३ करोड ३७ लाख ४५ हजार पुगेको जानकारी दिनुभयो । यस्तै संस्थाले आर्थिक बर्ष ०७५÷०७६ मा २५ लाख ३१ हजार २ सय ९८ रुपैयाँ ५० पैसा मुनाफा भएको पनि जानकारी दिनुभयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक हरिलाल सापकोटाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले मेहेनत गरेको बताउनुभयो । विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले विद्यालयले गुणस्तरीय जीवनउपयोगी व्यवहारिक शिक्षामा जोड दिदैं आएको जानकारी दिनुभयो । अभिभावकहरुको सुझाव अनुसार अगाडी वढ्दै गरेको विद्यालयले आईएसए अवार्ड प्राप्त गर्न सफल भएको बतानुभयो ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले विद्यालयमा १ हजार १ सय २४ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । नर्सरी देखी कक्षा १२ सम्म अध्ययन अध्यापन भईरहेको विद्यालयमा ८४ जना शिक्षक कर्मचारी रहेका छन् ।
विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेलले विद्यालयको उद्देश्य नै गुणस्तरिय शिक्षा प्रदान गर्नु रहेको बताउनुभयो । उहाँले गुणस्तरिय शिक्षासंगै अहिलेको आवश्यकता जिवनउपयोगी शिक्षा पनि रहेकाले विद्यालयले सो कुरालाई जोड दिएर अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव दोलराज पाण्डे, संस्थाका निर्वतमान अध्यक्ष माधवप्रसाद पौडेल, पुर्व अध्यक्ष गोपीनाथ खरेल, ईन्द्रराज ज्योती पौडेल, खगराज आचार्य, विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्साल, गैंडाकोट ५ का वडाध्यक्ष नवराज कंडेल, नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विजय सामुदायीक शिक्षा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष पार्वती कंडेलले राख्नुभएको थियो । कार्यक्रम विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply