नेकपा सचिवालय बैठक सुरु, दुई अध्यक्षबीच छलफल, राष्ट्रपति भण्डारीसँग भेट

0

File Photo

काठमाडौँ, ४ मङ्सिर

मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

यो बैठकबाट पुर्नगठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल मुलुक बाहिर रहेकाले बैठकमा सहभागी हुनुभएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर गर्दै हुनुहुन्छ । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन ।

यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो ।

त्यसअघि आजै बिहान दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि उहाँहरु राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको जनाईएको छ । अध्यक्षद्वय र राष्ट्रपतिबीच मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल भएको स्रोतको दाबी छ ।

Share.

Leave A Reply