विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडमा नयाँ कार्य समिति, अध्यक्षमा भुमिराज चापागाई चयन ।।

0

माया कंडेल
गैंडाकोट, कात्तिक ३०
सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाले सर्वसम्मत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नव गठित समितिको अध्यक्षमा भुमिराज चापागाई रहनुभएको छ । जसको उपाध्यक्षमा रामहरी शर्मा, सचिवमा गिरीराज लम्साल, कोषाध्यक्षमा भानु रिमाल, सहसचिवमा साबित्रि सापकोटा (सन्ध्या) रहनुभएको छ । त्यस्तै सञ्चालक समिति सदस्यहरुमा टंकनाथ पौडेल, शारदा झेंडी मगर, मोती चालिसे, विरेन्द्रलाल श्रेष्ठ (गोविन्द), गोकुल भण्डारी र शान्ति भुषाल आचार्य रहनुभएको छ ।
यस्तै लेखा सुपरिवेक्षण समितिमा युवराज सापकोटा (बासु) सदस्यहरुमा वद्रिनाथ लम्साल र ज्ञानु सापकोटा चयन हुनुभएको निर्वाचन समिति संयोजक केशवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।


विजय सामुदायिक शिक्षा सदनको सभाहलमा भएको कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख बिष्णुकुमारी कंडेलले विजय एफएमले सुचना, सञ्चारको माध्यमबाट विकासका लागि सरोकारवालालाई घच्घचाउने काम गर्दै आएको बताउनुभयो । उहाँले जनप्रतिनिधिलाई विकासका कामका लागि ध्यानाकर्षण गर्ने काम विजय एफएमले गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपप्रमुख कंडेलले सत्य तथ्य समाचार र सुचना दिईरहेको विजय एफएमले आगामी दिनमा पनि कसैको दवाव र प्रभावमा नआईकन नै समाचार दिनुपर्ने बताउनुभयो । उहाँले सत्य तथ्य सुचना दिनका लागि स्थापना भएको रेडियोले आफ्नो लक्ष्य पुरा गर्न सफल भएको बताउनुभयो ।

साधारणसभामा आर्थिक वर्ष २०७५÷०७६ को प्रगति प्रतिवेदन एवम् चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सचिव नारायणप्रसाद सापकोटाले स्थानीय तहहरुको समृद्धिका लागि सञ्चार क्षेत्रका तर्फबाट सहकार्य गरिने बताउनुभयो ।


त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७६÷०७७ को प्रस्तावित बजेट संस्थाका कोषाध्यक्ष शालिकराम घिमिरेले प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थामा हाल १ करोड ७ लाख ४५ हजार ३ सय शेयर पँुजी पुगेको बताउनुभयो ।
यस्तै आर्थीक वर्ष ०७५÷०७६ को लेखा समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक वेदप्रसाद गौडेलले प्रस्तुत गर्नुभएको थियो । उहाँले एफएमको सुविधा सम्पन्न भवन निर्माण भए पश्चात कार्यसम्पादनमा सहज भएको बताउनुभयो ।
साधारण सभामा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष भूमिराज चापागाईंले सकारात्मक परिवर्तनका लागि प्रयास गर्दै सामाजिक रुपान्तरणका लागि आवाज विहिनको आवाज बनेर अगाडी बढेको बताउनुभयो ।


कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा विजय खबर पत्रिकाका डिजाईनर बाबुराम पोख्रेललाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट शेयर सदस्यका रुपमा संस्थाका सल्लाहकार एवम् समाजसेवी सिद्धकुमार श्रेष्ठ, उत्कृष्ट बिज्ञापनदातामा चितवन रेडिमिक्स कंक्रिट प्रा.ली. भरतपुर चितवनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार सिद्धकुमार श्रेष्ठ, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवम् सल्लाहकार संयोजक खेमराज सापकोटा, निर्वतमान अध्यक्ष ईन्द्रराज ज्योती पौडेल, विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम कंडेल, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


कार्यक्रमका अध्यक्ष एवम् विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपिनाथ खरेलले समुदायको सूचनामा पहुँच वृद्धी गरि सशक्तीकरण गर्नु, सामाजिक, आर्थिक एवं सांस्कृतिक पक्षमा सकरात्मक प्रभाव पार्नु, सामाजिक विकासमा सहयोग पु¥याउनु, पारदर्शिता, सुशासन, लोकतान्त्रिक अभ्यास र संस्कारलाई समुदायस्तरसम्म फैलाउने काम गरिरहेको बताउनुभयो ।


साधारण सभाले सहकारी ऐनसँग नबाझिने गरि विनियम शंसोधन गरि पास गरेको छ । विजय विकास श्रोत केन्द्र र विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाईमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफ.एम.१०१.६ र विजय खबर पत्रिका मार्फत समाजमा सुचना र सन्देश प्रवाह गर्दै आईरहेको छ । संस्थामा हाल ३६५ जना सेयर सदस्य रहेका छन् । भने संस्थामा हाल पूर्णकालीन र आंशिककालिन गरि ४६ जना कर्मचारी रहेका छन ।
सत्य तथ्य सुचनाको सञ्चार जनशसक्तिकरणको मुल आधार भन्ने भावलाई आत्मसात गर्दै २०५७ सालमा स्थापना भएको संस्थाले समुदायको आवाज बुलन्द गर्दै आईरहेको छ ।  कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव युवराज सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply