अपटेडः गैडाकोट ३ को हर्दि खोलामा बोलेरो दुर्घटना, २ वर्षिय बालक सहित १४ जना घाइते,३ को अवस्था गम्भिर

0


डोलराज रानाभाट, गैडाकोट, २८ कार्तिक । गैडाकोट नगरपालिका वडा नम्वर ३ को हर्दि खोलामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार साँझ करिब साँढे ७ बजे बा ११ च ७०८३ नम्वरको बलेरो दुर्घटना भएको हो । हर्दिमा पुल निर्माण गरि रहेको कुन्दी कन्स्ट्रक्सन देवपुरको बोलेरोमा क्षमता भन्दा तीन गुणा यात्रु चढाएर यात्रा गराउदा दुर्घटना भएको हो । पुल निर्माणका कामदार र स्थानीय सहितको समुह गाउँतर्फ जाँदै गर्दा दुर्घटना भएको वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । उहाँकै सक्रियतामा गैडाकोट नगरपालिकाको गाडीले ५ जना घाईतेहरुलाई नयाँ मेडिकल कलेज पुर्याइएको थियो । पछि इलाका प्रहरी कार्यालय गैडाकोटको भ्यानले घाइतेको उद्धार गरी अस्पताल पुर्याएको थियो ।
गम्भीर घाइतेहरुमा नवलपुर जिल्ला मध्यविन्दु १२ का ४० वर्षिय डिल वहादुर ठेगामगर रहेको र उहाँको टाउको, हात र खुट्टामा चोट लागेको, गैडाकोट ३ हर्दि वस्ने ११ वर्षकी विद्या गुरुङ उनको पेटमा चोट लागेको र अर्को गम्भीर घाइते हुनेमा कैललाली लम्की ८ वस्ने वर्ष ३५ का सन्चु चौधरी रहेको र उहाँहरुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतेहरुमा नवलपुर जिल्ला गैडाकोट ३ हर्दिकी ४० वर्षिय मिरा गुरुङ, सोही ठाउँका २ वर्षिय यनोश गुरुङ,१० वर्षिय शरन गुरुङ, ३७ वर्षिय डोलमाया गुरुङ, ५८ वर्षिय जगत दाहाल,१९ वर्षिय राजेश पुरी, धादिङ दादीघाट ८ का २० वर्षिय सुरेश तामाङ (चालक) ,धादिङ धार्के ८ का वर्ष २३ का शंकर थापा, बारा पचरौटा ६ वस्ने वर्ष २४ का कमलेश कुमार यादव, रोल्पा लिवाङ ९ बस्ने वर्ष ३० का विकास विक, रोल्पा रेउगा गापा ३ का १४ वर्षिय मुनाल विक रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको र उपचार जारी रहेको प्रहरी जवान रमेश रिजालले जानकारी दिनुभयो । नवलपुर जिल्ला बाहेकका अन्य व्यक्तिहरु आयोजनाका रहेका छन् ।
सामाजिक संजाल युटुवमा भाइरल हर्दिका भिमबहादुर बिकको ५१ औं जन्मदिन मनाउन आयोजनाको बोलेरो लिएर स्थानीय सहित पुल निर्माणमा सहभागीहरु गाउँतर्फ जाँदै थिए ।
आजै भिम बहादुरलाई नवनिर्मित घर हस्तान्तरण गरिएको थियो । जन्मदिनको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी र अभियान्ता संयोजक रन्जिता गुरुङले घर हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवकान्त तिवारीले भाइरल भिम बहादुर बिक हर्दिको गहना भएको र बाबुआमालाइ उहाँले गर्ने सम्मान हामीहरुले पनि सिक्नु पर्ने बताउनुभयो । साथै घर निर्माणमा सहयोग पुर्याउने अभियान्ता र सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।
समाजसेवी रन्जिता गुरुङको ब्यतिगत ६ लाख २३ हजार २ सय ३५ रुपैया र सामाजिक सन्जाल र देश बिदेशबाट आएको रु. ५ लाख ४३ हजार ९ सय २८ रुपैया सहयोग रकम सहित उहाँ बस्ने घर निर्माण गरिएको थियो । पक्की घर निर्माण भएपछि भिमबहादुर खुशी हुनुनभएको छ । साथै आफ्नो निधन पश्चात पनि यो घर अफू जस्तै दुख पाएको व्यक्तिले वास पाउने गरी व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।

Share.

Leave A Reply