विजय खबर पत्रिका ‘ख’ वर्गमा वर्गीकृत

0


प्रेम क्षेत्री
कार्तिक २८, गैंडाकोट । विजय खबर पत्रिका ‘ख’ वर्गमा सूचीकृत भएको छ । प्रेस काउन्सिल नेपालले मूल्याङ्कन गरी सार्वजनिक गरेको नतिजामा विजय खबर साप्ताहिकलाई प्रदेश स्तरको ‘ख’ वर्गमा राखेको हो । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा २०७२ साल कात्तिक २४ गतेदेखि विजय खबर पत्रिकाको प्रकाशन शुभारम्भ गरेको हो । आईतबार मात्रै आकार वृद्धि गरि रंगिन प्रकाशनमा आएको पत्रिकाले थप उचाई लिने विश्वास व्यक्त गरिएको छ ।


विजय खबर पत्रिका स्थापनाकालको छोटो समयमा नै क्षेत्रिय स्तरको ‘ख’ वर्गमा पर्न सफल पत्रिका हो । यसअघि पत्रिका पहिलो पटक नै वर्गीकरणमा क्षेत्रिय स्तरको ‘ख’ वर्गमा परेको थियो । यसपटक पनि वर्गीकरण गर्दा प्रदेश ‘ख’ मा परेको हो । यसलाई निरन्तरा दिदैं पुनः प्रदेश ‘ख’ वर्गमा पर्न सफल भएको हो । यसले पत्रिका कुन गुणस्तरको छ भन्ने निर्धारण गर्छ । विजय खबर पत्रिका नवलपरासी चितवनबासीको माया र सद्भावले स्थापनाकालदेखि नै विशेष लोकप्रियता हासिल गर्दै आइरहेको पत्रिका हो ।
काउन्सिलबाट आ.व. २०७४÷७५ को वर्गीकरणको प्रक्रियामा सामेल ९१२ वटा पत्रपत्रिका वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको हो । यसअनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् । ३१ पत्रपत्रिका हुबहुमा परेको र १ को प्रकाशन अंक नपुगेकाले वर्गीकरणमा समावेश नगरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ वटा गरी ११४ पत्रपत्रिकाको नतिजा स्थगन गरिएको छ । वर्गीकरणमा समावेश ७६६ मध्ये राष्ट्रियस्तर १५६, प्रदेशस्तर १४२ र स्थानीयस्तरमा ४६८ वटा पत्रिका कायम भएका छन् । वर्गीकरणमा समावेश भएकामा दैनिक १४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिक र त्रैमासिक ११ र साहित्यिक र भाषिक ५६ रहेका छन् ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड –२०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरण प्रतिवेदन तयार गरी पेश गरेको थियो । उक्त प्रतिवेदनसमेतका आधारमा काउन्सिलले नतिजा सार्वजनिक गरेको छ ।
वर्गीकरण नतिजामा चित्त नबुझ्नेले आधार, प्रमाणसहित पुनर्योग र पुनःमूल्यांकनको लागि शुरु दस्तुरको पच्चिस प्रतिशत शुल्कसहित १५ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुरसहित निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
नवलपरासी जिल्लाबाट मात्र ५ वटा पत्रिका वर्गीकरणमा परेका छन् । त्यसमध्ये विजय खबर र परासी पत्र प्रदेश ‘ख’ मा नमूना सन्देश र जनअर्पण स्थानिय ‘ख’ मा र सामथ्र्य स्थानीय ‘ग’ मा परेका छन् । यस क्षेत्रका अन्य पत्रिका भने वर्गीकरणमा समावेश छैनन् ।

Share.

Leave A Reply