आज हरिबोधनी एकादशी , गैडाकोट सहित देशैभर मेला, सुन्तला र सखरखण्डाको विक्रि बढ्यो

0

डोलराज रानाभाट, गैडाकोट, २२ कार्तिक । आज हरिबोधनी एकादशी । विभिन्न ठाउँमा आयोजित मेला सकिएका छन् । आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । जसलाई विहानैबाट व्रत वसी मनाइएको छ ।

मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुनेगर्छ । आजदेखि विष्णु भगवान शयनबाट ब्युँझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि राम्रो मानिन्छ । भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै विवाह गर्ने गरिन्छ । घरघरमा सजाइएको तुलसीको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गर्ने गरिन्छ । सो अवसरमा विजय एफएम १०१.६ ले चितवन नवलपरासीका विभिन्न स्थानबाट प्रत्यक्ष प्रसारण गरेको छ । आज गैडाकोट र नारायणगढ जोड्ने पक्कीपुलमा पनि तोरण टाँग्नेको भीड देखिन्थ्यो । पालैपालो तोरण टाँग्ने भक्तजनहरु डोलीमा हालेको तोरण वोकेर भजनकिर्तन सहित रमाएका थिए । यता धार्मिक एवम पर्यटकीय क्षेत्र शिख्रौलीमा पनि विशेष मेला लागेको छ । नारायणी नदी किनारमा रहेको ठूलो चौरमा भएको मेलामा हजारौँको सहभागिता रहेको थियो । दर्शकहरु सुन्तता, सखरखण्डा, बदाम किन्न र विक्रि गर्न व्यस्त देखिन्थे भने स्टलहरुमा भीड देखिन्थ्यो ।धुव्रतारा युवा क्लवको आयोजनामा भएको एकादशी मेलामा विभिन्न व्यक्ति तथा कला क्षेत्रसँग सम्वन्धित संस्थाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

यस्तै चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकादशी मेला लागेको छ । देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो । बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको छ । यस्तै पूर्वी चितवनको चित्रसारीमा पनि एकादशी मेला लागेको छ । विशेषगरी थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको चित्रसारीमा बिहीबारदेखि नै मेला लागेको हो ।

मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएको छ । यस्तै थारू समुदायको बाक्लो उपस्थिति रहेको पूर्वी चितवनको खैरहनी–७ मझुईको ब्रह्मथानमा पनि मेला लागेको छ । थारूहरुले मान्दै आएको ब्रह्मथान (मन्दिर)मा एकादशीको दिन पूजासँगै नाचगान गर्ने प्रचलन रहेको छ । हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाएर मनाएका छन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।

Share.

Leave A Reply