मंसिर १२ देखि १६ मा हुने प्रथम डाँडाझेरी महोत्सवको तयारी तिव्र, स्टल बुकिङ्ग खुल्ला

0

डोलराज रानाभाट, गैडाकोट, २१ कार्तिक । नवलपुरको डाँडाझेरी स्थित भाङबारीमा हुने प्रथम ऐतिहासिक डाँडाझेरी महोत्सव २०७६ को तयारी तिव्र पारिएको छ । यही मंसिर १२ देखि १६ गते ५ दिन संचालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक डाँडाझेरी गैडाकोट विकास समाजका अध्यक्ष दुर्गा वहादुर मसराङ्गी मगरले जानकारी दिनुभयो ।

यस अघि कार्तिक २१ देखि २४ र दोस्रो मिति मंसिर ५ देखि ९ गतेसम्म हुने भनिएपनि लोकदोहोरी कलाकाहरुको केन्द्रीय सातौँ महाधिवेशन हुने भएका कारण कलाकारहरुको व्यस्तताले महोत्सव सारिएको थियो । अव मंसिर १२ देखि १६ गते नै महोत्सव हुने र त्यही अनुसारको तयारी तीव्र पारिएको अध्यक्ष मसारङ्गीले जानकारी दिनुभयो । महोत्सवको तयारीसँगै स्टल बुकिङ्ग पनि खुल्ला गरिएको छ । ३० वटा स्टल रहेकोमा १० वटा कृषि प्रदर्शनलाई छुट्याइएको र २० वटा व्यवसायीक स्टल छन् । कृषि स्टलहरुको पाँच दिनका लागि ३ हजार रुपैया र व्यवसायीक स्टलको प्रति दिन १ हजार रुपैया तिर्नुपर्ने गरी बुकिङ्ग खुल्ला गरिएको अध्यक्ष मसराङ्गीले जानकारी दिनुभयो ।

नवलपुरको उत्तरी पहाडी गाउँ डाँडाझेरीमा भएका पर्यटकीय ठाउँहरुको पहिचान र स्थानीय कला संस्कृतिको सरंक्षणका साथै त्यहाँ भएका उत्पादनको बजारीकरणका लागि पहिलो पटक ऐतिहासिक प्रथम डाडाझेरी महोत्सव २०७६ को आयोजना गरिएको हो ।

महोत्सवका मुख्य आकर्षणहरुमा सुपथ मूल्यमा कालिगण्डकी नदीमा र्याफ्टीङ गर्न सकिने, परापूर्वक कालमा राजाले देह त्याग गरेका ढुङ्गाको अवलोकन गर्न सकिने, मनोकाँक्षा पुरा गराइदिने जलदेवी मन्दिरको दर्शन गर्न सकिने,स्थानीय मौलिक भेषभूषा सहितको झाँकीहरु हेर्न सकिने, आदिवासी जनजातिहरुको मौलिक तथा अर्गानीक परिकार खान सकिने,अर्गानीक सुन्ताला, वन तरुल,अदुवा कागती, केरा, अम्रिसो आदिको अवलोकन सहित सुपथ मुल्यमा किनमेल गर्न सकिने,तातो चिसो पानीको अवलोकन गर्न सकिने,स्थानीय कला संस्कृति झल्कने मौलिक कौरा, पन्चेबाजा, झाम्रे र नाचन   सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने प्रचारप्रसार समितिका संयोजक मनप्रसाद भाटले जानकारी दिनुभयो ।

महोत्सवमा चर्चित लोकदोहोरी गायक राजु परियार, प्रिती आले मगर, यम आले मगर,सम्झना लामिछाने मगर,दिपक खड्का लगायतले विशेष प्रस्तुती दिनेछन् ।

विश्वकै महत्वपूर्ण सांस्कृतिक सम्पदा बोकेको शिला पाउने एक मात्रै नदी कालिगण्डकीको किनारमा अवस्थित डाँडाझेरीको भाङवारी पुग्न पूर्वपश्चिम राजमार्गको दलदलेबाट ४० किलोमिटर र गैडाकोट ढोडेनी हुँदै ४२ किलोमिटरको कच्ची सडकमा स्कुटर, मोटरसाइकल, जीप, अन्य चार पाग्रेँ सवारीको उत्तर तर्फको यात्रा पछि पुग्न सकिन्छ ।

पर्याप्त पर्यटकीय सम्भावना भएपनि प्रचार प्रसार र संरक्षणमा ओझेल परेका स्थानहरुको प्रवद्र्धन, संरक्षण, प्रचारप्रसारका साथै समग्र गाउँकै विकासका लागि एतिहासिक महोत्सव भएको प्रचारप्रसार समितिका संयोजक मन प्रसाद भाटले जानकारी दिनुभयो । डाँडाझेरी गैडाकोट विकास समाज आयोजक रहेको महोत्सव सफल पार्न बुलिङ्गटार गाउँपालिका २ डाँभडाझेरी सह आयोजक र बुलिङ्गटारा गाउँपालिका मुख्य प्रायोजक रहेको छ ।

Share.

Leave A Reply