गैंडाकोट १ का कवि धर्मानन्द शर्मा को “चन्द्र र चाँदनी कवितासङ्ग्रहको लोकार्पण“

0

गैँडाकोट, कार्तिक १७ ।

गैंडाकोट १ का कवि धर्मानन्द शर्मा पौडेलद्वारा रचित चन्द्र र चाँदनी नामक कवितासङ्ग्रहको एक भव्य समारोहका बीच शनिबार लोकार्पण गरिएको छ । गैंडाकोट २ स्थित श्रीराम पार्टी प्यालेसमा त्रिवेणी साहित्य परिषद्द्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ भाषाविद् प्रा डा चूडामणि बन्धुसहितका अतिथिहरूले सामूहिक रूपमा उक्त कृतिको विमोचन गरेका हुन् ।
प्रमुख अतिथि बन्धुले मनका भावहरूको सौन्दर्यात्मक अभिव्यक्ति नै कविता भएकाले विभिन्न किसिममा व्यक्त भइरहेको सौन्दर्यको हेराइलाई लिपिवद्ध गर्ने सशक्त र सर्व्प्रिय माध्यम कविता हो भन्दै कवि धर्मानन्दको लेखनीले यस्तै कृतिहरू पस्किँदै जान सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । लोकार्पित कृतिमाथि कविवर गोविन्दराज विनोदी र सहप्राध्यापक डा मतिप्रसाद ढकालले सङ्क्षिप्तरूपमा समीक्षा गर्नुभएको थियो ।
कृष्णशरण उपाध्याय, उदयनाथ रेग्मी, इन्द्र रेग्मी, गुराँस ठकुरी, नवराज पाण्डे, विश्वराज लम्साल, देवराज पौडेल, विज्ञान पौडेल, भूगोल लम्साल, मुना धनञ्जय, प्रजापति तिमल्सिना, दशरथ तिवारी, मनोहरी पौडेल, फणीनारायण सिग्देल, चक्रपाणि ज्ञवालीले लोकार्पित कृतिसहित आआफ्ना रचनासमेत वाचन गरेका थिए भने कवि धर्मानन्द शर्मा पौडेलले आफ्ना रचना वाचन गर्नेहरूमध्ये भूगोल लम्साल, गुराँस ठकुरी र विज्ञान पौडेललाई प्रोत्साहनस्वरूप नगद रकम प्रदान गर्नुभएको थियो ।
लक्ष्मण भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा कवि धर्मानन्द पौडेल शिक्षण सेवामा रहँदा कहिल्यै पनि जागिरे मानसिकताले होइन पारिवारिक अभिभावकत्व प्रदान गर्नुभएको र आफूहरुलाई कविता लेख्न प्रेरित गर्नुभएको कुरा व्यक्त गर्दै आफैले लेखेको पुस्तकले पनि आफैलाई प्रेरणा दिन सक्ने, रसवरी खाइरहँदा बिस्तारै रसको मोह टुट्तै जाने भए तापनि कविताले बिस्तारै मोहनी लगाउँदै जाने, सांसारिक भोगअघि र भोगपछि पनि तनाब रहिरन्छ तर यस्ता साहित्यिक कृति नै स्थायी आनन्दको स्रोत हुन् भन्ने कुरा व्यक्त गर्नुभएको थियो ।
बूढो भएपछि लेख्न थालेको बताउँदै आफूलाई आज सबैले कवि भनेर सम्बोधन गरेको सुन्दा लाज लागे पनि आफू आजैबाट कवि भएछु भन्ने कुरा व्यक्त गर्दै कवि धर्मानन्द शर्मा पौडेलले कार्यक्रम सफल बनाउन प्रत्यक्ष एवम् परोक्ष रूपमा सघाउने सबै महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्रा डा नारायणप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कवि इन्द्रराज पौडेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply