विकासका लागि सञ्चार अभियान अन्र्तगत गैंडाकोट १८ लाई ‘हाम्रो गाउँ हाम्रो आवाज’ को घोषणा, विकासका लागि सञ्चारको अहम् भुमिका हुने नगर उप प्रमुख कंडेलको भनाई

0

प्रेम क्षेत्री, कार्तिक १६, गैंडाकोट ।

 

विकासका लागि सञ्चार अभियान अन्र्तगत गैंडाकोट वडा नम्बर १८ लाई ‘हाम्रो गाउँ हाम्रो आवाज’ को औपचारिक घोषणा गरिएको छ । शनिबार गैंडाकोट नगरपालिका वडा नम्बर १८ को कार्यालय दमारमा एक समारोहका विच विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलले घोषणा गर्नुभएको हो ।
जस अन्तर्गत विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित विजय एफएम १०१.६ र विजय खबर पत्रिकाले गैंडाकोट १८ का समस्यालाई सम्बन्धीत निकायमा पु¥याउने, स्थानीय स्तरको सम्भावना र स्रोतको उपयोगलाई प्रवर्धन गर्नका लागि सञ्चार अभियान अन्तर्गत काम गर्नेछ । अभियान अन्तर्गत विजय एफएम १०१.६ मा हरेक साताको बुधबार र विजय खबर पत्रिकामा हरेक मंगलबार गैंडाकोट १८ मा रहेका विभिन्न बिषयमा केन्द्रित रहेर रिपोर्ट, समाचार प्रकाशन एवम् प्रशारण गर्नेछ । श्रावण महिनादेखी नै यो अभियानको थालनी भएपनि शनिबार औपचारिक घोषणा एवम् अन्र्तक्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले विकासका लागि सञ्चारको अहम् भुमिका हुने बताउनुभयो । यसअघि विजय एफएमले गैंडाकोट ३ मा गरेको काम प्रशंसनिययोग्य रहेको उल्लेख गर्दै स्थानीय जनप्रतिनिधीदेखी सरोकारवाला सबैलाई सजग र उत्तरदायी बनाएको बताउनुभयो । दुर्गम स्थान सम्म पुगेर विजय एफएमले खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँले आवश्यक सहयोगका लागि गैंडाकोट नगरपालिका हरदम तयार रहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलले समुदायको विकासका लागि ग्रामिण सञ्चारको आत्मवोध गर्दै नमुना ग्राम सञ्चार अभियानको सुरुवात गरेको बताउनुभयो । यस अभियानले गैँडाकोट १८ का समस्या र सम्भावना उजागर गर्ने जनप्रतिनिधिको चाहना अनुरुप समस्या समाधानका लागि सञ्चार प्रक्रियाको माध्यमबाट पुलको भूमिका निर्वाह गरी सकरात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । यस कार्यक्रमले वडाको विकास, वडाको पहिचान, वडाको समस्या समाधानका लागि सञ्चारको माध्यामबाट प्रवर्धनका लागि बाटो खुला गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
गैंडाकोट १८ का वडाअध्यक्ष तिलबहादुर चितौरे मगरले सुगम नगरपालिकाको दुर्गम वडाका रुपमा परिचित रहेको बताउँदै प्रशस्त सम्भावना रहेपनि आवश्यक बजेट विनियोजन गर्न नसक्दा वडा पछि परेको बताउनुभयो । यसका लागि स्थानीयदेखी प्रदेश र केन्द्रस्तरसम्म कुरा गरेपनि आँफुहरुको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सञ्चारमाध्यमसँग सहकार्य गर्दै अघि वढेको बताउनुभयो । विकास निर्माणका सवालमा नेता गणबाट प्रायः मौखिक आश्वासन आउने गरेपनि सहयोग कमै मिल्ने गरेको उहाँको भनाई छ ।
सो क्रममा स्थानीयबासीले वडामा रहेका अन्य समस्याबारे अवगत गराएका थिए । कार्यक्रममा अकलादेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झमानसिंह सारु मगर, देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक लिला थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका कार्यसमिति सदस्य लक्ष्मीप्रसाद कंडेलले स्वागत मन्तव्य व्यक्त गर्दै अघिल्लो वर्ष गैँडाकोट नगरपालिका वाड नं. ३ मा गरेको सञ्चार अभियानले समुदायमा सकरात्मक प्रभाव पारेको र यसको माग वढिरहेको सन्दर्भमा यस वर्ष गैँडाकोट १८ मा लाई अघि बढाउने सोच बनाएको बताउनुभयो । यस अभियानमा स्थानीय वासी, गैंडाकोट नगरपालिका, वडा कार्यालय, वडामा रहेको विभिन्न संघ संस्था समूह सम्पूर्णको सहयोग प्राप्त हुने समेत विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले गैंडाकोट वडा नम्बर १८ का आवाजलाई समेटने गरि हाम्रो गाउँ हाम्रो आवाज सञ्चार अभियानको थालनी गरेको जानकारी दिनुभयो । गैंडाकोट १८ मा रहेका समस्या उजागर गर्दै यहाँका सम्भावना पहिल्याउन यस अभियानले महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।


‘विकासका लागि सञ्चार, हाम्रो गाउँ हाम्रो आवाज’ विशुद्ध एउटा सञ्चार अभियान हो । यस अभियानको सहयोगी संस्थाको रुपमा गैंडाकोट नगरपालिका वडा नम्बर १८ को कार्यालय रहनेछ । यो अभियान अन्तर्गत यो वर्ष विजय एफ एम १०१.६ र विजय खबर पत्रिकाले गैँडाकोट १८ का विभिन्न त्यस क्षेत्रको समृद्धिका लागि जनप्रतिनिधिलाई जनउत्तरदायि बनाउने छ । अभियान अन्तर्गत गैंडाकोट वडा नम्बर १८ मा रहेको यातायातको समस्या, खानेपानीको समस्या, विद्युतको समस्या, शिक्षाको समस्या, सञ्चारको समस्या, दैनिक जीवकोपार्जनका समस्या र अन्य विविध समस्यालाई पहिचान गरी समस्या समाधानका लागि सम्बन्धित निकायलाई घच्घचाइरहनेछ । साथै यस वडाभित्रका अदुवा खेती, होमस्टे, अन्य विभिन्न सीपमूलक आयआर्जनका सम्भावनाहरुलाई उजागर गर्नेछ ।
कार्यक्रममा गैंडाकोट १८ का वडासदस्यहरु चमबहादुर सुनारी मगर, गगनसिंह सुनारी मगर, टेकमाया सोती मगर, शान्तीमाया दर्जी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधी, स्थानीयवासी लगायतको उपस्थिती रहेको थियो ।
यसअघि गैंडाकोट ३ मा गरिएको नमुनाग्राम सञ्चार अभियानले त्यहाँको समस्या उजागर गर्ने र सम्भावना पहिल्याउन महत्वपूर्ण योगदान गरेको स्थानियबासीको भनाई छ ।

Share.

Leave A Reply