गैडाकोट २ मा प्रहरीले युवालाई कुटेको देख्ने प्रत्यक्षदर्शीः ‘चिरपटले हानेका थिए’

0

डोलराज रानाभाट, गैडाकोट, १४ कार्तिक । प्रहरी जवान विरेन्द्र तामाङ सहितका सिभिलमा रहेका प्रहरीले कार्तिक १३ गते कुटपिट गरेका गैडाकोट २ का प्रेम आलेको अझैपनि आइसियुमा राखेर उपचार चलिरहेको छ । आलेको चितवन मेडिकल कलेजमा उपचार जारी रहेको हो ।
गैडाकोटमा लामो समय घुमुवाको काम गरेका प्रहरी जवान तामाङ सहितका हाल गैडाकोटमै कार्यरत प्रहरी जवानहरु गणेश खनाल,मिन लामिछाने र अर्का एक व्यक्तिले आलेलाई चिरपट र मुङ्ग्राले हिर्काएको नारायणी टोल विकास संस्थाका अध्यक्ष एवम् घटनाका प्रत्यक्षदर्शी प्रदिप तामाङले जानकारी दिनुभयो ।
यो करिब साँढे ९ बजे राति भएको घटना आफू स्वयमले प्रत्यक्ष देखेको र आफैले घटना छुट्याएको उहाँको भनाई छ । यस अघि करिब साँढे ८ बजेतिर भएको घटनामा युवाहरु र प्रहरी जवान तामाङवीच हानाहान हुँदा तामाङको नाकमा चोट लागेको र पछि पुनः करिब साँढे ९ बजेतिर आएर प्रेम आलेलाई चिरपट र मुङ्ग्राले कुटेको प्रदिपले विजय एफएमलाई जानकारी दिनुभयो । मार्ने नियतले हिर्काएको उक्त घटनामा आफू नगएको भए कुनै अप्रिय घटना घट्न सक्थ्यो भन्दै प्रदिपले प्रहरीको दादागिरीले प्रेम आले गम्भीर घाइते अवस्थामा उपचार जारी रहेको बताउनुभयो । उहाँले घटनामा संलग्नलाई कारवाही गर्न माग गर्नुभयो ।
करिव साँढे ८ बजेतिरको पहिलो घटनामा नारायणी नदी किनारमा रमाइलो गरीरहेका युवाहरुलाई प्रहरी जवान तामाङसहितले थर्काएको र किन थर्काएको भनी युवा र प्रहरी टोलीवीच झडप भएको टोल विकास संस्थाका अध्यक्ष एवम स्थानीय प्रदिपले बताउनुभयो । यही समयमा हेलमेटले हान्दा प्रहरी जवान विरेन्द्र तामाङको नाकमा चोट लागेको थियो ।
पहिलेनै हामी प्रहरी हौँ भनिदिएको भए घटनानै नहुने भन्दै प्रदिपले प्रहरीको दादागिरीले नै अनाहकमा घटनामा संलग्न नभएको व्यक्ति प्रेम आलेले कुटाई खानुपरेको र गम्भीर अवस्थामा उपचार भइरहेको बताउनुभयो । यदि युवाहरुले होहल्ला गरेको भएपनि त्यही वेलानै आफूहरु प्रहरी हो भनिदिएको भए यस्तो अप्रिय अवस्था नआउने उहाँको भनाई थियो ।
शिलन्यास चोकबाट मोटरसाइकलमा गएका ४ जना प्रहरीले प्रेम र अर्का एक व्यक्ति कुरा गरिरहेको ठाउँमा गएर यसअघिको घटनामा यो नै थियो भन्दै नालीमा लडाएर चिरपट र मुग्राले हानेर गम्भीर घाइते बनाएका थिए । पछि प्रहरीको भ्यान पुगेर घाइते मगरको उद्धार गरेको थियो । घटनाको भोलिपल्ट इलाका प्रहरी कार्यालय नवलपुरमा भएको छलफलमा विरामीको उपचार सकिएपछि थप कारवाही अघि बढाउने गरी टुंगिएको प्रदिपले जानकारी दिनुभयो ।
यद्यपी छलफलमा इलाका प्रहरी कार्यालय गैडाकोटका इन्सपेक्टर दिपक कुमार कार्कीले चित्तवुझ्दो कुरा गर्नुभएको र विरामीको उपचार पछि थप घटनाको विषयमा छलफल हुने प्रदिप तामाङले जानकारी दिनुभयो । जाहेरी समेत लेखिसकिएको तर दर्ता भने नगरेको उहाँको भनाई छ । उता वडाअध्यक्ष ध्रुवराम पौडेलले सिभिल प्रहरीको गतिविधि ठिक नभएको भन्दै सिभिल प्रहरीले जनतासँग लड्ने नभई जानकारी मात्रै लिएर माथिल्लो निकायलाई खवर पुर्याउनुपर्नेमा जिम्मेवारी ढंगबाट प्रस्तुत नभएको बताउनुभयो । युवाहरुले गलत नै गरेपनि आफ्नो परिचय दिएर सम्झाउनुपर्ने प्रहरीनै कुटपिटमा उत्रिएको घटनाले आफूलाई पनि दुखित बनाएको र दोषीलाई कडा कारवाहीको माग गर्नुभयो । आगामी दिनमा यस्ता घटना प्रहरी निकायबाट हुन नुहुनेमा पनि सचेत वन्न उहाँको आग्रह छ ।
यसअघि इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर दिपक कुमार कार्कीले युवाहरुले हेलमेटले हानेर नाकमा चोट पुर्याएपछि प्रहरी हो भन्दा भागेका युवाहरु मध्ये प्रेम आले नालीमा लडेको र त्यही वेला प्रहरी जवान तामाङले कुटेको बताउनुभएको थियो । घटनाको विरामी उपचार पछि फर्केर आएपश्चात थप अनुसन्धान गर्ने उहाँको भनाई थियो । तामाङ यसअघिनै गैडाकोट इलाकाबाट सरुवा भइ गण्डकी प्रदेश प्रहरीमा कार्यरत रहेको कार्कीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply