भारतिय नागरिक भएको प्रमाणित गर्न काङ्ग्रेस नेता कंडेलको चुनौती

0


काठमाडौं ,६ कार्तिक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले आफ्नो नाममा भारतीय भूमिमा एक इञ्च पनि जमिन भए जुनसुकै कारवाही भोग्न तयार रहेको बताउनुभएको छ । आफूमाथि सञ्चार माध्यमले भारतीय नागरिक भएको आरोप लगाएपछि बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेता कँडेलले आफू भारतीय नागरिक भएको पुष्टि गर्नसमेत चुनौती दिनुभयो ।

उहाले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी अजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको पनि दाबी गर्नुभएको छ । “मेरो नाममा भारतीय नागरिकता त के, मेरो नाममा भारतमा एक इञ्च पनि जमिन भएको पुष्टि गरेर देखाउन चुनौती दिन चाहन्छु,” उहाँले भन्नुभयो, “संस्था विद्यालय बाहेक भोट हालेको सावित गरे दण्ड सजाय भोग्न तयार छु । तर, झुटो आरोप लगाएर मान प्रतिष्ठामा आँच पुर्‍याउँदा अत्यन्तै दुःख लागेको छ ।”

उहाले आफूले भारतीय सवारी चालक अनुमतिपत्र भने लिएको स्वीकार्नुभयो । आफूले बाल्यकालदेखि स्नातक तहसम्म भारतमा अध्ययन गरेको र शैक्षिक प्रमाणपत्रका आधारमा सवारी चालक अनुमतिपत्र लिएको कँडेलको भनाइ छ। भारतदेखि तेस्रो मुलुक जाने अधिकांश नेपालीले ति मुलुकको सवारी चालक अनुमति पत्र लिने गरेको स्मरण गराउँदै सवारी चालक अनुमति पत्र लिँदैमा कोही पनि अन्य मुलुको नागरिक नहुने उहाँको तर्क छ ।

कँडेलले आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको जानकारी दिनुभयो । सन् १९५० को सम्झौताका आधारमा नेपालीले पनि भारतमा सामाजिक संघसंस्था सञ्चालन गर्न पाउने भएकाले आफू आफ्नो हजुरआमाले खोलेको क्याम्पस तत्कालीन विद्यालय को अध्यक्ष भएको प्रष्ट पार्नुभयो ।

उहाले आफूलाई अपहरणकारी भएको दाबी गर्ने सञ्चार माध्यमविरुद्ध कानुनी उपचारमा जाने पनि बताउनुभयो। एक महिना अगाडिमात्रै आफू भारतीय र नेपाली सुरक्षा अधिकारीको संयुक्त बैठकमा सहभागी भएको तस्बिर देखाउँदै उहाँले भन्नुभयो , “म अपहरणकारी भएको भएँ के यसरी दुबै देशका सुरक्षा अधिकारी सहभागी भएको कार्यक्रममा उपस्थित हुने हिम्मत राख्थे ? ममाथि हुँदै नभएको आरोप लगाइएको छ । कानुनी उपचारमा जान्छु ।”

कांग्रेस नेता कँडेल पत्रकार सम्मेलनमा आफूमाथि सञ्चार माध्यमले लगाएका अनेक आरोपको खण्डन गर्ने लिखित दस्तावेजहरुका साथ उपस्थित हुनुभएको थियो ।

Share.

Leave A Reply