मौलाकाली वनको १७ औं साधारण सभा सम्पन्न, समृद्धिका लागि एकद्वारा प्रणाली ः नगर प्रमुख पौडेल

0


प्रेम क्षेत्री
कार्तिक ५, गैंडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समूहको १७ औं साधारण सभा मंगलबार गैंडाकोटमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैंडाकोटको समृद्धिका लागि एकद्वार प्रणालीमा जानुपर्ने आवश्यकता रहेको औंल्यानुभयो । नगरपालिका र हरेक संघ संस्थाको सहकार्यबाट मात्र समृद्धि सम्भव रहेको उहाँको भनाई छ । नगर प्रमुख पौडेलले जंगल क्षेत्रका हाईटेन्सन लाईन क्षेत्रमा माटो परिक्षण गरि अमिलो जातका फलफुल खेतीलाई प्राथमिकता दिई स–साना खालका वृक्षारोपण गर्नुपर्ने सुझाव दिनुभयो । नवलपुरका ४४ भन्दा वढि सामुदायिक वनका विद्यान तथा योजना निर्माणमा आफु प्रत्यक्ष सरिक भएको दावी गर्दै उहाँले सबैको साथ र सहयोगले नै बन हरियाली बन्न सफल रहेको बताउनुभयो । मौलाकाली वन क्षेत्रमा रहेको चुहार खोलाको डिपिआर गरि राष्ट्रपति चुरे कार्यक्रममार्फत ताल बनाउन सहयोग माग गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा उहाँले वनद्वारा निर्माण गरिएको ३ कोठे पक्कि भवन गैंडाले हानेर घाईते भएका गैंडाकोट २ बोटेटोलका आईतराम बोटे परिवारलाई सोही स्थानमा पुगेर घर हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले नेपाल सगरमाथा, बुद्धको देशसँगै सामुदायिक वनको देशका रुपमा चिनिने गरेको बताउनुभयो । जलवायु परिवर्तनका कारण हुन सक्ने समस्या कम गर्न पानीको मुहान संरक्षणसँगै दिगो वन व्यवस्थापनमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सब डिभिजन वन कार्यालय गैंडाकोटका सहायक वन अधिकृत ज्योतीप्रसाद कोईरालाले सामुदायिक वनहरुले निर्माण गरेका सिमसार क्षेत्रले वन र वन्यजन्तुको संरक्षण र वातावरण संरक्षणमा ठुलो टेवा पुगेको बताउनुभयो ।
कार्यक्रममा वनका पुर्व अध्यक्ष एवं धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, गैंडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, गैंडाकोट २ का वडाअध्यक्ष ध्रुवराम पौडेल, जयश्री वनका अध्यक्ष महेन्द्रभक्त अधिकारी, उपभोक्ता कृष्णप्रसाद सापकोटा, नेराश आदर्श माविका प्रधानाध्यापक ईन्द्रराज भट्टराई, गोपेश्वर मन्दिरका अध्यक्ष सिता न्यौपाने, नेकपाका प्रतिनिधी रामचन्द्र सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काशिनाथ कंडेलले चुहार खोला क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि अन्दाजी ३ हेक्टर जमिनमा फैलिने गरी सुविधा सम्पन्न जलाशय निर्माण गर्ने बताउनुभयो । त्यस्तै उहाँले ओख्लेभञ्ज्याङमा आकर्षक भ्युटावर निर्माण गर्ने कार्यक्रम रहेको समेत बताउनुभएको छ ।
साधारण सभामा वनको आर्थिक वर्ष ०७५÷०७६ को प्रगति विवरण तथा आर्थिक वर्ष ०७६÷०७७ को प्रस्तावित नीति तथा कार्यक्रम सचिव मनरुपादेवी चालिसे गोमाले प्रस्तुत गर्नुभएको थियो । उहाँले वन विकासतर्फ २३ वुदाँ, संस्थागत विकासतर्फ १६ वुदाँ, गरिबी न्युनिकरण तथा आयमुलक कार्यक्रमतर्फ १३ वुदाँ, महिला शसक्तीकरणतर्फ ४ वुदाँ र कार्यालय सञ्चालनतर्फ ८ वुदाँ गरि विविध प्रस्ताव पेश गर्नुभएको थियो ।
आर्थिक वर्ष ०७५÷०७६ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रजापति सापकोटाले प्रस्तुत गर्नुभएको थियो । वनमा १ करोड ३७ लाख ८ सय ५९ रुपैयाँ आम्दानी र १ करोड ५ लाख ६० हजार ४ सय ९५ रुपैयाँ खर्च भई ३१ लाख ४० हजार ३ सय ६५ रुपैयाँ बचत भएको विवरण पेश गरिएको थियो । सह कोषाध्यक्ष कमलप्रसाद कंडेलले आर्थिक वर्ष ०७६÷०७७ का लागि १ करोड ६ लाख ८२ हजार ६४ रुपैयाँको प्रस्तावित आम्दानी प्रस्तुत गर्नुभएको थियो ।
लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शरणहरी शर्मा गौंडेल, अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन संयोजक जनकलाल तिवारी, महिला सशक्तीकरण उप समितिको प्रतिवेदन संयोजक मनरुपादेवी चालिसे, वन पैदावर बिक्रि वितरण उप समितिको प्रतिवेदन संयोजक हरिप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।


सो अवसरमा सल्लाहकार सदस्य शारदादेवी ढकाललाई अभिनन्दन, रमेशप्रसाद यादवलाई कदरपत्र, विजय एफएमकी पत्रकार सरु चापागाईलाई प्रशंसापत्र लगायत ३ दर्जन वढिलाई सम्मान गरिएको थियो ।


वनका उपाध्यक्ष हरिप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम सह सचिव वेदप्रसाद गौडेलले सहजिकरण गर्नुभएको थियो । मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काशिनाथ कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
२०४९ सालदेखी संरक्षण प्रारम्भ गरिएको मौलाकाली वन ४९८.८२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा हाल २२३६ उपभोक्ता सदस्य रहेको वनका कार्यालय सचिव अर्जुन सापकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply