गैडाकोट ९ मा चियापान । कम्युनिष्टलाई विश्वास गर्नुहुन्न ः काँग्रेस नेताहरु

0


कम्युनिस्टहरुलाई विश्वास गर्न सकिँदैन ः डा. कोइराला
पहिले कांग्रेसभित्रको घर झगडा मिलाऔँ ः गगन थापा
गैंडाकोट । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा शशांक कोइरालाले कम्युनिस्टलाई कहिल्यै विश्वास गर्न नहुने बताउनुभएको छ । नेपाली कांग्रेस वडा कार्य समिति वडा नम्बर ९ गैंडाकोटद्वारा विजया दशमी, शुभ दीपावली, छठ र नेपाल संवत्का अवसरमा थुम्सीमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान एवम् विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले विपीले गरेका कामको उल्लेख गर्दै कम्युनिस्टहरुलाई विश्वास गर्न नसकिने बताउनुभएको छ ।

उहाँले २ वटा ‘म’ मगर र महिलाले आपूmलाई निर्वाचनमा जिताएको बताउँदै भोली पार्टी सभापति बनेका खण्डमा विशेष प्राथमिकतामा राख्ने बताउनुभयो । त्यस्तै उहाँले नवलपुरमा विशेषगरी तीन ओटा कुरालाई प्राथमिकतामा राखेको जनाउँदै अन्तर्राष्ट्रिय स्तरको खेलमैदान, ट्रमा सेन्टर र नारायणी नदीका छेउमा त्रिवेणीसम्म वैकल्पिक मार्गका रुपमा योजनाको सुरुवात गर्ने बताउनुभयो ।


त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले प्रचण्ड चितवनबाट हार्ने डर र केपी ओली यो जुनीमा प्रधानमन्त्री भइँदैन कि भन्ने डरले नेकपा गठबन्धन बनेको तर्क गर्दै उहाँले नेकपालाई विश्वास गर्न नहुने बताउनुभयो । उहाँले नेकपाको गठबन्धन भन्दा पनि ‘ग’ पछाडि र ‘ठ’ अगाडि रहेर बनेको बन्धन रहेको बताउनुभयो । साथै उहाँले वर्तमान सरकारबाट नै संविधान खतरामा रहेको उल्लेख गर्दै कांग्रेसले यसको रक्षाका लागि कर्तव्य निर्वाह गरेको बताउनुभयो । चुनावमा भाग लिएर पार्टी ठूलो हुनुपर्छ भन्ने भन्दा पनि जनतालाई स्वतन्त्र, उचनिच हुने परिपार्टीको अन्त्य र नेपाललाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने गरी कांग्रेसको जन्म भएको उहाँको भनाइ थियो । साथै उहाँले पहिले कांग्रेसभित्रको घरझगडा मिलाएर कांग्रेस अघि बढ्नुपर्ने बताउनुभयो ।


गण्डकी प्रदेश सभा सदस्य एवं प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले विपी कोइरालाले सबैलाई मिलाउने गरी सुरुवात गरेको जलपान कार्यक्रमको निरन्तरता रहेको उल्लेख गर्दै यो दायित्व कांग्रेसको रहेको बताउनुभयो । अबको तीन वर्षमा पार्टीलाई पहिलो बनाउने गरी प्रतिबद्ध हुँदै कांग्रेसलाई स्थापित गराउन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य एवं कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले शुभकामना औपचारिकताका लागि मात्र गर्ने नभई पार्टीभित्रको विकृति र विसंगति अन्त्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । शुभकामना दिने तर गोजीमा छुरा बोकेर हिँड्ने प्रवृत्तिको अन्त्य गर्दै पार्टी संगठन मजबुत गराउन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।


नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले नेकपा चौंथो तहको क्यान्सर भएको पार्टी भएको उल्लेख गर्दै त्यो चितवनमा हुन लागेको उपनिर्वाचनबाट प्रमाणित गर्ने बताउनुभयो । कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको बताउँदै उहाँले नेकपाविरुद्ध सशक्तरुपमा लड्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य सत्यनारायण खनालले विपी कोइरालालाई भजाएर जसरी राजनीति भइरहेको छ त्यो नभई विपीले नेतृत्व गरेअनुरुप नेतृत्व तह अघि बढ्नुपर्ने बताउनुभयो । यो भेटघाटले एक भएर जाने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
पूर्व सांसद महेन्द्रध्वज जिसीले आगामी दिनमा पार्टीभित्रका कमी–कमजोरीहरू सच्याउँदै एक भएर अघि बढ्ने सत्कर्म र शक्ति मिलोस् भन्ने कामना गर्नुभयो ।
गायक विमलराज क्षेत्रीले ‘सुन सुन साथी–हाम्रो देब्रे छाती, छातीभित्र मुटु–मुटुभित्र नेपाली कांग्रेस पार्टी’ गीत गाउँदा कार्यकर्तामा उल्लास छाएको थियो ।


नेपाली कांग्रेस वडा कार्य समिति वडा नम्बर ९ गैंडाकोटका सचिव बुद्धिनाथ घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम वडा सभापति उमाकुमारी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेस जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा, महासमिति सदस्य तिलकप्रसाद सापकोटा, मदनभक्त अधिकारी, गजेन्द्र आले, गैंडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेल, जिल्ला समन्वय समिति प्रमुख चेसराम आले, उपप्रमुख शारदा विकलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो ।

Share.

Leave A Reply