राप्ती महोत्सव भोलिबाट, सम्पुर्ण तयारी पुरा

0

२९ असोज, राप्ती । पुर्वी चितवनको राप्ती नगरपालिकामा पहिलोपटक आयोजना गरिएको राप्ती महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आज आयोजकले महोत्सव स्थलमा पत्रकार सम्मेलन गरि महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको हो । महोत्सवका मुल समारोह समितिका संयोजक तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलले भोलि बिहिबार दिउँसो १ बजे पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले महोत्सवको उदघाटन गर्ने जानकारी दिनुभयो । उद्घाटन समारोहको ब्यवस्थापन, सुरक्षा प्रबन्ध लगायतका सम्पुर्ण तयारीसमेत पुरा भइसकेको छ ।

महोत्सवको उदघाटन अगाडि राप्ती नगरपालिकाको कार्यालय भण्डाराबाट खुरखुरे हुदै बिरेन्द्रनगरसम्म शोभा यात्रा निकालिनेछ । शोभा र्यालीमा विभिन्न जातजातिको भेषभुषा, कला सँस्कृति प्रदर्शन गरिनुका साथै सयौँ संघ संस्थाको सहभागिता रहनेछ । उदघाटन समारोहमा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा बादलसहित प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभाका मन्त्री तथा सांसदहरु चितवन आउने कार्यक्रम छ ।

महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई बिशेष प्रथामिकता दिइएको आर्थिक समिति संयोजक मार्कन्डेय गौतमले जानकारी दिनुभयो । मह, दुध, माछा लगायत कृषिजन्य उत्पादनको प्रवद्र्धनमा महोत्सवले जोड दिएको छ । रेशम खेतिको प्रबद्र्धनका लागि छुट्टै स्टलसमेत राखिएको छ ।

त्यस्तै चेपाङ, मगर र थारु समुदायको साँस्कृतिक घरहरु महोत्सवको थप आकर्षण हुने कला तथा सास्कृतिक संयोजक प्रदिप उप्रेतीले बताउनुभयो । दर्शकको आकर्षणका लागि राष्ट्रियस्तरका चर्चित कलाकारहरु बद्रि पंगेनी, प्रमोद खरेल, पशुपति शर्मा, खुमन अधिकारी, रामजी खाँण, दुर्गेश थापा, मनोज गजुरेल, कमला घिमिरे लगायतको प्रस्तुति दैनिक रुपमा रहने छन् । महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि सेल्फी जोनको ब्यवस्था गरिएको छ ।

नगरभित्रका पर्यटकीय स्थलहरुको आकर्षक तस्वीरहरुसहित सेल्फी जोनको निर्माण गरिएको संयोजक कँडेलको भनाई छ । २५० वटा स्टलहरु रहने महोत्सवमा राप्ती नदिमा डुङगा सयर, पर्यटकिय स्थलहरुमा जिप सफारीको ब्यवस्थासमेत गरिएको छ । महोत्सवमा चेपाङ समुदायको परिचय खुल्ने गरि आएमा ४० रुपैयामा टिकट उपलब्ध गराइने बताइएको छ । अन्यलाई ६० र बिद्यार्थीलाई ४० रुपैया टिकट दर तोकिएको छ । यसैबीच महोत्सवको प्रचारका लागि बुधबार मोटरसाइकल र्याली निकालिएको छ ।

महोत्सव स्थल बिरेन्द्रनगरदेखि लोथरसम्म महोत्सवको बारेमा जानकारी गराउदै बृहत र्याली निकालिएको प्रचार प्रसार समिति संयोजक दिनेश सेढाईले जानकारी दिनुभयो ।

कृषि पर्यटन, उद्योग र ब्यापार, राप्ती बिकासको मुल आधार भन्ने नारासहित आयोजना गरिएको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । राप्ती नगरपालिका र राप्ती उद्योग बाणिज्य संघ महोत्सवको आयोजकको रुपमा रहेको छ । महोत्सवले समग्र नगरको सम्बृद्धि र पर्यटन प्रबद्र्धनमा मद्धत पुर्याउने बिश्वास लिइएको छ । महोत्सव बिशुद्ध नाफा कमाउने उद्धेश्यले नभई नगरपालिकाको कृषि तथा पर्यटन सम्बृद्धिको लागि आयोजना गरिएको संयोजक कँडेलको भनाई छ ।

Share.

Leave A Reply