चितवनमा कैदीबन्दीको चाप बढेसँगै  पचास कैदी स्थानान्तरण   

0

चितवन, १६ असोज (रासस)    ः कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै यहाँको कार्यालयबाट कैदी स्थानान्तरण गरिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कार्यालयमा रहेका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका ५० जनालाई स्थानान्तरण गरी हेटौँडाको भीमफेदीमा पठाइएको हो ।

कारागार व्यवस्थापन विभागसँगको सहकार्यमा कारागार कार्यालयबाट स्थानान्तरण गरी भीमफेदीमा पठाइएको हो । स्थानान्तरण गरिएकामा लागुऔषध मुद्दाका २४, जबरजस्ती करणीका ११, सवारी ज्यान मुद्दाका छ, ज्यान मार्ने उद्योगका दुई, चोरी मुद्दाका तीन, बहुविवाहका एक, हाहतियार मुद्दाका एक, कर्तव्य ज्यान मुद्दाका एक र जीउ मास्ने बेच्ने मुद्दाका एक जना रहेका छन् ।

जिल्लामा औषधि उपचारका लागि पठाइने बिरामी कैदीबन्दी र नवलपुरमा कारागार नहुँदा त्यहाँबाट आएका कैदीबन्दीका कारण दिनहुँ चाप बढ्दै गएको छ । हेटौँडामा महिला बन्दीगृह नहुँदा यहाँको कारागारमा महिला कैदी तथा बन्दीहरुको चाप पनि बढ्दै गएको प्रमुख काफ्लेको भनाइ छ ।

दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा स्थानान्तरणपछि ७६२ कैदीबन्दी छन् । तीमध्ये ६८ महिला र ६९१ पुरुष कैदीबन्दी हुन् । कारागारमा आमासँगै तीन नाबालक रहेका छन् । कारागार साँघुरो भएपछि स्थानान्तरणका लागि ठाउँ खोजी भइरहेको छ ।

Share.

Leave A Reply