प्रभावकारी ढङ्गबाट हुलाक सेवा प्रवाह गर्न निर्देशन   

0

काठमाडौँ, १५ असोज (रासस)    ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुलाक सेवालाई सरल र सहज बनाउँदै जनतालाई प्रत्यक्ष लाभ हुने गरी प्रभावकारी ढङ्गबाट सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

विश्व हुलाक दिवसका अवसरमा यहाँ आज डिल्लीबजारस्थित गोश्वरा हुलाकको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्त्री बाँस्कोटाले सूचना र सञ्चार प्रविधिको विकाससँगै हुलाक सेवालाई नुनदेखि सुनसम्म व्यापार गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हुलाक सेवालाई दु्रत गतिमा अगाडि बढाउन अहिले सरकारसँग नीति छ, राजनीतिक स्थिरता छ, त्यसलाई हामीले जनताको खुशीमा बदल्न चाहेका छौँ, त्यसका लागि तपाईंहरुले इमान्दारीसाथ काम गर्नुपर्ने हुन्छ ।”

मन्त्री बाँस्कोटाले हुलाकलाई प्राधिकरणमा लैजाने गरी नयाँ कानूनको तयारी भइरहेको भन्दै कार्यालयलाई देशैभरि रहेका प्रत्येक वडा कार्यालयमा हुलाक कार्यालय स्थापना गरेर सेवालाई नागरिकप्रति उत्तरदायी बनाउने तयारी गरिएको जानकारी दिनुभयो । प्राधिकरणमा लगेपछि सेवाको दायरा फराकिलो गर्दै प्रभाव र पँहुच क्षेत्रसमेत थप विस्तार हुने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले हुलाक सेवालाई आधुनिकतासँगै कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने बताउनुभयो । हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले आगामी दिनमा हुलाक सेवासँगै व्यवसाय पनि शुरु गरिने बताउनुभयो ।

करीब रु १० करोड लागतमा निर्माण गरिएको सो भवनमा विश्व हुलाक दिवस, विश्वभर हुलाक सङ्घको १४५औँ स्थापना दिवस तथा विश्व हुलाक दिवस आरम्भ भएको ५०औँ वार्षिकोत्सवका अवसरमा र विश्व हुलाक सङ्घले अन्तर्राष्ट्रिय हुलाक सेवाको प्रावधान तथा नियमनमा पु¥याएको योगदानको सम्मानस्वरूप हुलाक सेवा विभागले विश्व हुलाक दिवसको संस्मरणात्मक आवरण प्रकाशनमा ल्याएको छ ।

Share.

Leave A Reply