भुजेलमा रोटरीको योगदान, पानी पिउन जनश्रमदान

0


माया कँडेल
गैंडाकोट । गैंडाकोट ३ भुजेल गाउँवासीले सहज पिउने पानीको अभाव भोगिरहेका छन् ।  त्यो अभाव कम गर्न यहाँका स्थानीयहरु अहिले सहज तरिकाले पानी पिउन पाइयोस् भन्दै श्रमदान गर्दै छन् । गाउँमा स्वच्छ र स्वस्थ खानेपानीको सुविधा पाउन नसकेका स्थानीय आफै जुटेर संघसंस्थाको सहकार्यमा खानेपानी आयोजनाका लागि काम गर्दैछन् ।
भुजेल गाउँकी सोमीमाया भुजेल उमेरले अरुभन्दा पाको हुनुुहुन्छ । उहाँ गैंटी खेलाउँदै हुनुहुन्छ । उहाँजस्तै अहिले गैंडाकोट ३ भुजेल गाउँका स्थानीयहरु खानेपानी सहज बनाउन श्रमदान गर्दै छन् । गाउँमा स्वच्छ र स्वस्थ खानेपानीको सुविधा पाउन नसकेका स्थानीयको समस्या विजय एफएमले बारम्बार रिपोर्ट प्रसारण गरेपछि विभिन्न संघसंस्थाको ध्यानाकर्षण भएको थियो । तत्पश्चात् रोटरी क्लबले खानेपानी आयोजना सम्पन्न गर्नका लागि धमाधम काम अघि बढाएको छ । संस्थाको सहयोगमा योजना अघि बढेपछि गैंडाकोट ३ भुजेल गाउँका स्थानीयमा छुट्टै उत्साह र खुसी छ । सो कार्यमा उनीहरुले सहयोग गरिरहेका छन् । स्थानीयको श्रमदानमा नै यो योजना अघि बढेको छ । स्थानीय सोमीमाया भुजेलको खुसीको सीमा नै छैन । उहाँले भन्नुभयो –“खुसी लगेको छ, वुढी भए पनि उत्साह छाएको छ, अब पानी आउने भयो । सागसब्जी लगाएर खान पाइने भयो ।”
रोटरी नमुना भुजेल गाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर भुजेल पनि उत्तिकै खुसी हुनुहुन्छ । अहिले गाउँलेहरु मिलेर लाइन खन्ने, पानी ट्याङ्की बनाउने, सोलिङ गर्ने काममा श्रमदान गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –“स्थानीयले पनि खुसीका साथ काम गरिरहेका छन् । रमाइलो मानी मानी काम गरिरहेका छन् । रोटरीले हाम्रो पुकार सुन्यो ।” सामाजिक संघसंस्था रोटरी क्लब र समुदायको आवाज बनेको रेडियो विजय एफएमले भुजेल गाउँमा रहेका समस्या जनमानसमा ल्याउन र समाधान गर्नमा धेरै सहयोग गरेकाले गाउँमा खानेपानी आयोजना सञ्चालन हुन सकेको उहाँ बताउनुहुन्छ ।
स्थानीय कुलप्रसाद भुजेल विजय एफएमले पहल नगरेको भए सायद पानीको योजना अघि नबढ्ने बताउनुहुन्छ । उहाँले पानीको पीडा विस्तारै कम हुँदै गएको र आशा जाग्दै गएको बताउनुभयो ।
स्थानीयहरु सबै काममा व्यस्त छन् । कोही बालुवा बोक्न त कोही लाइन खन्न व्यस्त देखिन्छन् । कोही भने पानी ट्याङ्की निर्माण गर्ने स्थानमा सोलिङ बनाउनका लागि ढुङ्गा मिलाउनमा व्यस्त देखिन्थे । उनीहरुले केही दिनदेखि लगातार काम गरिरहेका छन् ।
उनीहरु सबैको मुहारमा थकानभन्दा बढी खुसी छचल्किएको छ । अहिले आफ्नै गाउँको मुहानमा योजना बन्न लागेकाले पानी पिउन पाइने आशा रहेको स्थानीय सुस्मा भुजेलको भनाइ छ ।
पहिले धेरैपटक योजना आए श्रमदान गरे पनि दिगो रुपमा खानेपानी सुविधा उपभोग गर्न नपाएका स्थानीयमा अब त पाइन्छ भन्ने पूर्ण आशा छ । स्थानीय गोपी थापाले यहाँ बनेका धेरै योजनामध्ये अहिलेको योजना मजबुत देखिएकाले केही आशा पलाएको बताउनुभयो ।
रोटरी क्लबका इन्जिनिएर गुनेश्वर महतोले गाउँमा रहेको खानेपानीको समस्या छिट्टै अन्त्य होस् भनेर काम अगाडि बढाइरहेकाले ४÷५ महिनामा नै सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । सरल र सहज प्रविधिको प्रयोग गरिएको बताउँदै इन्जिनियर महतोले अहिले खानेपानीको मुहान राम्रो भएकाले पनि स्थानीयले दिगो रुपमा खानेपानी सुविधा उपभोग गर्न पाउने बताउनुभयो ।
अब स्वस्थ खानेपानीको अभावमा विभिन्न किसिमका रोग नलाग्ने स्थानीयको विश्वास पनि रहेको छ । हरेक व्यक्ति र समुदाय सचेत बनेर आफ्नो ठाउँको विकासका लागि काम गर्ने हो भने पक्कै पनि गाउँले छिट्टै मुहार फेर्ने रहेछ भन्ने उदाहरणसमेत बनेको उनीहरु बताउँछन् । गाउँमा अब खानेपानीको सुविधा सहज होस् भन्ने हेतुले पनि उनीहरु श्रमदान गरिरहेका छन् ।

Share.

Leave A Reply