धवाहा ताल तथा उद्यान निर्माण प्राथमिकतामा

0

 
प्रेम क्षेत्री
गैंडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ८ र ९ ले धवाहा ताल तथा उद्यान निर्माण कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ । वनका अध्यक्ष घनश्याम कंडेलले धवाहा ताल तथा उद्यान निर्माणको गुरुयोजना तयार गरी प्रारम्भिक कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । उहाँले बाँध निर्माण गर्नाका साथै तालको माटो हटाउने कार्य अघि बढाइसकिएको जनाउँदै पचास प्रतिशत काम सम्पन्न भएको र सो ताल निर्माणका लागि नगर र प्रदेश स्तरबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
वनका सचिव पूजा शर्मा पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनको संरक्षण संवद्र्धन र विकास कार्यक्रम, वन पैदावर सदुपयोग कार्यक्रम, संस्थागत विकास कार्यक्रम, जीविकोपार्जन तथा गरिबी निवारण कार्यक्रम र सामुदायिक विकास कार्यक्रमअन्तर्गत विविध क्रियाकलाप सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०७६÷०७७ मा दैनिक वन गस्ती गर्दै २ किमी अग्निरेखा निर्माण गर्ने र सिमानामा तारबार लगाउने कार्य अघि बढाइने बताउनुभयो । त्यस्तै नर्सरी निर्माण गरी बिरुवा उत्पादन गर्ने, जडिबुटी वृक्षरोपण गरिएको ठाउँलाई अझै व्यवस्थित गरिने, कागती र अन्य आयमूलक वनस्पति पहिचान गरी वृक्षरोपण गर्ने बताउनुभयो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै वनका कोषाध्यक्ष प्रेमप्रसाद सापकोटाले वनले गतवर्ष २ करोड ६७ लाख ५४ हजार ४ सय ७९ रुपैयाँ आम्दानी गरेको बताउनुभयो । उहाँले १ करोड १५ लाख ६५ हजार ७ सय ३ रुपैयाँ खर्च भएको जनाउँदै १ करोड ५१ लाख ८८ हजार ७ सय ७६ रुपैयाँ शुद्ध बचत भएको बताउनुभयो । गतवर्षको पुँजीगत कोषबाट यसवर्ष १ करोड ५१ लाख ७५ हजार ७२ रुपैयाँले वृद्धि भई १ करोड ९६ लाख ९ हजार ९ सय ७ रुपैयाँ पुगेको उहाँको भनाइ थियो ।

Share.

Leave A Reply