चौतारी सामुदायिक वनको नमूना काम, विपन्न उपभोक्ताहरुलाई घर निर्माण गरि हस्तान्तरण

0


प्रेम क्षेत्री
भाद्र २४, रजहर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको देवचुली १७ रजहरमा रहेको श्री चौतारी सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्ताहरुलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । मंगलबार २ कोठे ५ वटा घर हस्तान्तरण गरिएको हो ।
देवचुली १७ साविक रजहर क्षेत्रमा निर्माण गरिएका घरहरु छिपनीमा प्रविण महतो थारु, गौरीपुरमा रामबहादुर सारु मगर, वसन्तपुरमा गोपाल विक, कुलेनीमा आशा माझी र पिप्रहरमा तुलसीराम चौधरीलाई उहाँहरुको घर घरमा नै पुगेर घरको चापी हस्तान्तरण गरिएको हो । घर पाएपछि उनिहरुले खुसी व्यक्त गर्दै वनलाई धन्यवाद समेत दिएका छन् ।


प्रतिघर २ लाख ७० हजारका दरले १३ लाख ५० हजारमा लागतमा ५ वटा घर निर्माण गरि हस्तान्तरण गरिएको चौतारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिनुभयो । वनले हालसम्म विपन्न परिवारका लागि १६ वटा घर निर्माण गरि हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।


यसअघि समूहको कार्यालय परिसरमा आयोजित विपन्न उपभोक्ताहरुलाई आवास (घर) हस्तान्तरण कार्यक्रम बोल्दै डिभिजन वन कार्यालय नवलपुरका डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले यो उपभोक्ताहरुले संरक्षण गरेको वनको प्रतिफल रहेको उल्लेख गर्दै विपन्न परिवारलाई यस कार्यले ठुलो राहत मिलेको बताउनुभयो । उहाँले समूहको यस कार्यले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुने जनाउँदै सबैले आफ्नो जीवीकोपार्जन सहज रुपमा गर्नसक्ने वातावरणको सृजना गर्नुपर्ने बताउनुभयो ।


त्यस्तै देवचुली १७ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले वनको कार्य निकै प्रशंसनिय योग्य रहेको जनाउँदै वडाका विपन्न परिवारलाई घर हस्तान्तरण गर्नु भनेको जीवन रक्षा गर्नु रहेको बताउनुभयो । वनले वातावरण र वन संरक्षणमा खेलेको भुमिका अतुलनिय रहेको बताउनुभयो ।


कार्यक्रममा वनका पूर्व अध्यक्षहरु भुवनेश्वर अधिकारी, गंगाबहादुर थापा, भिमलाल पौडेल झविन्द्र रानामगर, सामुदायिक वन स्थानीय महासंघ देवचुलीका सचिव संगीता सापकोटा, सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा, सम्झना अधिकारी लगायत स्थानीय विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधी, वनका विभिन्न समिति उपसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा वनका उपाध्यक्ष ललितराम महतोले स्वागत मन्तव्य राख्नुभएको थियो । चौतारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजिकरण वनका कार्यालय सचिव खुमबहादुर सारुले गर्नुभएको थियो ।


२०५२ सालदेखी संरक्षण गरिदैं आएको वन ३६०.२१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा हाल १४२४ उपभोक्ता सदस्य रहेको वनका कार्यालय सचिव खुमबहादुर सारुले जानकारी दिनुभयो ।

Share.

Leave A Reply