कालिका विद्यापीठका छात्रहरूको प्रतिभा प्रस्फुटन

0

गैडाकोट, ५ भाद्र । नेपाल संस्कृत विश्वविद्यालअन्तर्गतको १३ औं आङ्गिक विद्यापीठ (क्याम्पस)का रूपमा सुपरिचित गैंडाकोटस्थित कालिका संस्कृत विद्यापीठमा आज छात्र परिषद्द्वारा आयोजित ‘विद्यार्थी र कविता शृङ्खला -२’ कार्यक्रम विद्यापीठको सभाहलमा सुसम्पन्न भयो । आफ्ना कविता तथा गजलमार्फत १४ जना विद्यार्थीहरूले देश र प्रेमका बारेमा साहित्यिक चर्चा गरे । त्यस क्रममा नारायण शालीनले जीवन एउटै रहे पनि लक्ष्य धेरै रहेका कारण लक्ष्यहरू पूरा गर्न निकै सक्रिय हुनुपर्ने बताए ।

अनुप भण्डारी देशको विकराल स्थितिमा न्याय हराउँदै गएकामा चिन्तित देखिए । कमल सापकोटाले राष्ट्रप्रति स्नेहसद्भाव दर्शाए । नवीन दाहालले छात्रावास र विद्यापीठका समस्याहरूको समाधान गर्नका लागि कवितामार्फत ध्यानाकर्षण गराए । बृहस्पति चापागाईंले नचाहेर युवाहरू विदेशिनुपर्ने बाध्यता सुनाए । प्रवेश प्याकुरेलले कैयौँ दीपावलीहरू मनाए पनि देश दिनानुदिन अँध्यारिँदै गएकामा चिन्ता प्रकट गरे । रविन चापागाईंले हरेक नागरिकको थोरै पहिचान र बलिदान भइदिए देश र जनताले वास्तविक परिवर्तनको अनुभूति गर्ने बताए । समुद्र रिमाल खरानी हुने दामको पछाडि लाग्नेहरूप्रति व्यङ्ग्य गर्न अग्रसर भए । विजय वस्ताकोटीले घाँटी रेटिए पनि कहिल्यै आफ्नो शिर नझुक्ने वीरता प्रदर्शन गरे ।

शेखर रेग्मीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काव्यिक योगदानप्रति श्रद्धाभाव प्रकट गरे । सन्दीप ढकाल, केशव सापकोटा र सुजन ढुङ्गेलले आआफ्ना गजलबाट मायाको गाजल लगाए । छात्र परिषद्का पूर्व अध्यक्ष प्रदीप ढुङ्गानाले वायोडाटाभित्र अटाउने विवरणको अस्तित्व खोज्ने प्रयास गरे । वर्तमान छात्र परिषद्का अध्यक्ष अभय न्यौपानेले आफ्नो अध्यक्षीय मन्तव्यसँगै गजल सुनाएर कार्यक्रमको विसर्जन गरे ।

विद्यार्थीहरूले सुनाएका समग्र कविता र गजलको समीक्षात्मक टिप्पणी गर्नाका साथै आफ्नो प्रकाशोन्मुख ‘छन्दमाला’ कृतिबाट दुईवटा नयाँ छन्दमा कविता सुनाएर सहप्राध्यापक माधवप्रसाद चालिसेले प्रमुख अतिथिको जिम्मेवारी पूरा गर्नुभयो । छात्रावास सुपरीवेक्षक तथा उपप्राध्यापक कपिलदेव भट्टराईले ‘लालीगुराँस’ शीर्षकको लामो कविता सुनाएर विद्यार्थीहरूलाई कवितालेखनमा अभ्यस्त रहन प्रेरित गर्नुभयो । विद्यापीठ सञ्चालक समितिका अध्यक्ष तिलकप्रसाद सापकोटा र प्राचार्य रामचन्द्र कण्डेलले छात्रावासका समस्याहरू यथासम्भव समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्ययनका साथै अतिरिक्त क्रियाकलापहरूमा अग्रसर हुँदै जानका लागि विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो ।

कविता सुन्नमात्र मन पराउने तर कविता रच्ने कला आफूमा नभएको बताउँदै सहप्राध्यापक डा. मतिप्रसाद ढकालद्वारा यस्ता कार्यक्रमसँगै सूत्रान्ताक्षरी, श्लोकान्ताक्षरी आदि कार्यक्रम पनि मासिक रूपमा गर्दै जान विद्यार्थीलाई प्रेरित गरियो । नवीन बराल, रविन चापागाईं र सन्दीप सुवेदीले संयुक्त रूपमा प्रस्तुत गरेको हारमोनियम र मादलसहितको साङ्गीतिक भजनले कार्यक्रममा निकै रोचकता थपेको थियो । यस्तै किसिमका कार्यक्रमहरूलाई मासिक रूपमा निरन्तरता दिन सकेमा विद्यार्थीभित्र विद्यमान प्रतिभा प्रस्फुटन हुँदै जाने थियो ।

Share.

Leave A Reply