रवि लामिछानेसहित ३ जनालाई थप अनुसन्धानका लागि पाँच दिन फेरि हिरासतमा राखिने

0

गैडाकोट, ३ भाद्र । न्युज २४ बाट प्रशारण हुने कार्यक्रम सिधा कुरा जनतासँगका संचालक रवि लामिछाने सहित ३ जनालाई थप ५ दिनको म्याद थप गरिएको छ । तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको हो। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा भिडियोमा नाम लिएका कारण पक्राउ परेका लामिछानेसँग थप सोधपुछ आवश्यक परेको भन्दै सरकारी वकिलले १० दिको म्याद थपको माग गर्नुभएको थियो ।

तर न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।गत शुक्रबार न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद दिनुभएको थियो । आज पुनह अदालत लगेर म्याद थप गरिएको हो ।

सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत लगेको थियो। अनुसन्धानका लागि  प्रहरीले गत बिहीबार साउन ३० गते बेलुकी लामिछाने र कडेललाई कार्यालयबाटै पक्राउ गरेको थियो भने नर्स अस्मिता कार्कीलाई दिउसै कलंकीबाट पक्राउ गरि सोही दिन चितवन ल्याइएको थियो ।

Share.

Leave A Reply