रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

0


साउन ३१, चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चितवन जिल्ला अदालतमा भएको थुनछेक बहस पछि जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ । पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि भएको थुनछेक बहसले पाँच दिनको म्याद थपेको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ । लामिछानेलगायतको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोख्रेलसहित दुई स्थानीय वकिलले बहस गरेका छन् । वादीका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलले १० दिनको म्याद थप्न माग गरे पनि अदालतले पाँच दिनको म्याद थपेर अनुसन्धान गर्ने निर्णय गरेको थियो । कानुनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।
लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए । भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।
माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीन जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको हो । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ निवासी पुडासैनीको साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारूमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

Share.

Leave A Reply