गैंडाकोट ३ : खरका छानाहरू हटाइँदै

0

पवित्रा पराजुली ,गैंडाकोट । यही वैशाख २९ गते गैंडाकोट नगरपालिका वडा नम्बर ३ का खुमराज आर्चायको जीवनमा नसोचेको घटना घट्यो । जंगलनजिकै घर, जंगलमा हावाहुरीसँगै आएको आगोको झिल्को आचार्यको घरको धुरीमा आएर सल्किन थाल्यो । अचानक घरमा आगालागी भएपछि आचार्यसँगै सबै छिमेकी पनि आगो निभाउनका लागि जुटे । खरको छानो भएकाले आगो छिटै सल्कियो । आगो निभाउने प्रयास सफल हुन सकेन अनि केही समयमा नै आनो घर उहाँकै आँखा अगाडि नै खरानी बन्यो ।
आचार्यलाई अहिले पनि त्यो घटनाले दुःखी बनाएको छ । घरमा खरको छानो भएकै कारण यति धेरै क्षति भएको आचार्यको भनाइ छ । उहाँले भन्नुभयो –“पहिले आर्थिक अवस्था कमजोर थियो टिनको छानो हाल्न सकिन अहिले यस्तो भयो । अब भने टिनकै छानो राखेर घर बनाउँदै छु ।” गैँडाकोट ३ का अधिकांश भूभाग जंगलले ढाकेको छ । चैत वैशाखमा अझै धेरै आगालागीको डर हुने गर्छ । आगोलागीको समस्या यो वर्ष मात्र नभएर हरेक वर्ष हुने गरेको स्थानीय विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।
धेरै भूभागमा फैलिएको भए पनि गैँडाकोट ३ मा जम्मा ६ सय ७७ वटा घर छन् । जसमध्ये ३३ वटा खरको छाना भएका घर रहेको गैडाकोट ३ का सामाजिक परिचालक इन्द्रराज ज्योति पोखरेलले बताउनुभयो । उहाँले गरिबीको कारणले गर्दा पनि खरको छानो लगाउने गरेको बताउनुभयो ।
वर्षैपिच्छे छानो छाउन पर्ने झन्झट अनि आगालागीको समस्या समाधानका लागि गैंडाकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले खरको छानो विस्थापन गरेर टिनको छानो लगाउने अभियान नै सुरु गर्नुभएको छ । वडाध्यक्ष तिवारीले यही आर्थीक वर्षमा नै काम सुरु हुने बताउनुभयो । उहाँले टिनको छानो लाउनका लागि वडाले १० हजार सहयोग गर्ने र सामुदायिक वनसँग पनि सहकार्य गरेर अगाडि बढिरहेको जानकारी दिनुभयो ।
स्थानीय बासीन्दामा पनि अव वडाले नै टिनको छाना लगाउन सहयोग गर्ने भएपछि खुशी छन् । जनप्रतिनिधि आएपछि जनप्रतिनिधि आएको आभाष गर्न पाएको वडावासी बताउँछन । यो मात्रै नभएर सडक, शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रमा सहज पहुच पुगोस भन्ने वडावासीको चाहना पनि छ ।

Share.

Leave A Reply