कालिगण्डकी करिडोर : ६ महिनापछि गँैडाकोटबाट बन्ने

0

श्रीधर उपाध्याय/डोलराज रानाभाट, गैंडाकोट,२८ श्रावण । । पाँच अर्ब ४७ करोडको लागतमा निर्माण सुरु भएको कालिगण्डकी करिडोर ६ महिनापछि गैंडाकोट क्षेत्रबाट पनि सुरु हुने भएको छ । पूर्वी नवलपरासीको गैँडाकोटस्थित कालिगण्डकी चोकदेखि पाल्पा पीपल डाँडासम्मको १ सय ३२ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये ७ मिटरमा कालोपत्रे, एक एक मिटरको किनारा र एक एक मिटरको नाला रहनेछ ।
करिडोरको निर्माण कार्यमा कालोपत्रेको चरण ढिलोमा ६ महिनापछि सुरु गरिने नेपाल सरकारबाट आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । सुवेदीले भन्नुभयो –“हाम्रो त लक्ष्य अहिले नै सुरु गर्ने हो तर संशोधित वातावरणीय मूल्याङ्कन (इआइए) प्रतिवेदन आउन ढिलाइ भएकाले सुरु गर्न नसकिएको हो । पहिला चौडाइमा थोरै मिटरको बाटोका लागि भनेर प्रतिवेदन तयार पारिएको थियो । पछि सडक ११ मिटरको बनाउने भएपछि थप रुख काट्नुपर्दा इआइए प्रतिवेदनको पर्खाइमा रहेको हुँदा ढिलाइ भएको हो ।”
सडक निर्माणको जिम्मेवार कम्पनी इकेके इफ्रास्टक्चर लिमिटेड भारत रहेको छ । सडक निर्माणका लागि नेपाली कम्पनीलाई समेत संलग्न गराइएको छ । नेपाली कम्पनीमध्येका आशिष निर्माण सेवा भरतपुरका साइड इन्चार्ज कपिल ज्ञवालीका अनुसार पाल्पा क्षेत्रबाट निर्माण कार्य गरिदै आएको करिडोरको ८५ किलोमिटर सडक फराकिलो अर्थात (मापदण्ड अनुसार ११ मिरटको) वनाउने कार्य सकिएको छ । चार वटा खण्ड बनाएर काम सुरु भएको र गैंडाकोट क्षेत्रबाहेक अन्य ठाउँमा कटिङको काम तीव्ररुपमा अघि बढेको निर्माण कार्यमा सहभागी ज्ञवालीले बताउनुभयो ।
४ वटा खण्ड बनाएर काम थालिएको उहाँको भनाइ छ । रूख काट्नमा उपभोक्ताको पनि सहमति रहेको तर आयोजनाका व्यक्तिहरु नआउँदा ढिलाइ भएको गैंडाकोट ३ का अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत ज्योति कोइरालाले पनि आफूहरुलाई आयोजनाका व्यक्तिहरुसँग बसेर अघि बढ्न पत्र आए पनि उहाँहरु सम्पर्कमा नआउँदा काम अघि नबढेको बताउनुभयो । आयोजना प्रमुख सुवेदीका अनुसार उक्त प्रतिवेदन नआउँदासम्म भेटले पनि खासै प्रगति नहुने बताउँदै चाँडै भेटेर काम अघि बढाउने बताउनुभयो ।
यस करिडोरको चार खण्डमध्ये कालिगण्डकी चोकदेखि बुलिङटारको थामबेसीसम्म, थामबेसीदेखि भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारदेखि पाल्पा रामपुरको पिपलडाँडासम्म रहेको छ । २०७५ मंसिर १७ गतेबाट सुरु गरिएको कालिगण्डकी करिडोरको निर्माणकार्य सम्पन्न २०७८ मंसिर १६ भित्र सक्नुपर्ने आयोजना प्रमुख सुवेदीको भनाइ रहेको छ ।
कालिगण्डकी करिडोरको १ सय ३२ किलामिटरमध्ये गैँडाकोट ३ को महेश्वत खोलामा पुल निर्माण भइरहेको छ । यस करिडोरअन्तर्गत ३२ वटा पुल निर्माण कार्य जारी रहेको छ । पुल निर्माणको ७० प्रतिशत काम सकिएको नेपाल सरकारका तर्फबाट सब इन्जिनियर पदम अधिकारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply