देवघाटमा शिवमूर्ति निर्माणका लागि धातु ढाल्ने काम शुरु

0

प्रेम क्षेत्री, गैडाकोट, २७ श्रावण । नेपालको राष्ट्रियधामका रुपमा परिचित देवघाट धाममा ३० फिट अग्लो अष्टधातु शिवमूर्ति निर्माणका लागि धातु ढाल्ने काम शुरु भएको छ । पवित्र भुमि, धार्मिक, पर्यटकिय क्षेत्र देवघाटधाम प्रवेशद्वारमा विश्वकै नमूनाका रुपमा ३० फिट अग्लो अष्टधातुबाट शिवमूर्ति निर्माण गर्न लागिएको हो । सोमबारदेखी मुर्ति निर्माणको प्रथम चरणको निर्माण कार्य सम्पन्न भई दोस्रो चरणमा धातु ढाल्ने कार्यको थालनी भएको छ ।
देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका महासचिव मदन मिश्रले मुर्ति निर्माण कार्य दु्रत गतिमा अघि वढिरेहेको जानकारी दिनुभयो । २०७७ कार्तिक १ गते निर्माण सम्पन्न गर्ने सम्झौता गरि सोही अनुरुप कार्य अघि वढाईएको उहाँले बताउनुभयो । पर्याप्त मात्रामा धार्मिक पर्यटकहरु भित्राउने लक्ष्य लिई देवघाटधाम प्रवेशद्वारा चितवन तर्फ गुरुयोजना सहितको सो मूर्ति निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।
निर्माणाधिन शिव मुर्तिमा तामा, पित्तल, ढलोट, चरेस, सिल्भर, सुन चाँदी र जस्ताको प्रयोग हुने निर्माणको जिम्मा पाएका सेन्चुरी मुर्तिकला उद्योगका प्रोपाईटर तिलविर सुनार सेन्चुरीले जानकारी दिनुभयो । अबको करिब १५ महिनामा सो निर्माण कार्य सम्पन्न हुने उहाँको भनाई छ ।
अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्तिसहित जमिनमुनि पूजा कोठा र धार्मिक संग्र्रहालय, यात्रु विश्राम गृह, पार्कसहितको आकर्षक संरचना निर्माणको गुरुयोजना निर्माण गरिएको मुर्ति निर्माण समितिका संयोजक देविराम घिमिरेले जानकारी दिनुभयो । देवघाट संरक्षण प्रतिष्ठानले यसअघि चितवन दाङलगायत विभिन्न जिल्लामा महायज्ञ सञ्चालन गरेर धातु र अर्थ संकलन गरेको प्रतिष्ठानका सदस्य शरणहरी शर्माले जानकारी दिनुभयो ।

२०७२ सालमा स्थापित प्रतिष्ठानले २०७३ साउनमा तत्कालिन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीबाट उद्घाटन गरि निर्माण कार्य अघि वढाएको छ । विभिन्न दातावाट आर्थिक संकलन गरिएपनि करिब ९ करोड बराबरको गुरुयोजना तयार भएकाले रकम अभाव देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सो कार्यका लागि सरकारी तथा विभिन्न निकायवाट सहयोग प्राप्त भएपनि अझै सहयोगको अपेक्षा गरिएको बताउनुभयो । यस कार्यमा तन, मन र धनले सहयोगका साथै सल्लाह सुझाव प्रदान गरिदिनहुन सम्पूर्ण धर्मानुरागी महानुभावहरुमा उहाँले अनुरोध गर्नुभएको छ ।

Share.

Leave A Reply