अपटेड हुन्न गैडाकोट नगरपालिकाको वेबसाइट, खोजेको विवरण पाउन कठीन

0

डोलराज रानाभाट, गैडाकोट , २४ श्रावण । नवलपुरको गैडाकोट नगरपालिकाकाले वेबसाइट अपटेडमा वेवास्ता गरेको छ । सार्वजनिक महत्वका सूचना तथा कार्यक्रमका प्रतिवेदनहरु आम जनताले थाहा पाउने गरि वेबसाइटमा राख्नुपर्ने कानुनी प्रावधान भएपनि त्यसलाई अटेर गरिएको छ । अधिकतम खुलापन हरेक सार्वजनिक निकायको प्रमुख उद्देश्य हुनुपर्नेमा नगरपालिकाले भने यसलाई वेवास्ता गर्दै धेरै सूचनाहरु वेबसाइटमा राखेकै छैन ।

२०७६ साल श्रावण २४ गते वेलुका ६ बजेसम्म नगरपालिकाको वेबसाइट हेर्दा अधिकाँश खण्डहरु अपुरो र रित्तो देखिन्थ्यो । गृहपृष्ठ, परिचय, कार्यक्रम तथा परियोजना,प्रतिवेदन,विद्युतीय शुसासन सेवा, सूचना तथा जानकारी, ग्यालरी र सम्पर्क गरि आठ वटा खण्ड रहेको वेबसाइटमा नगरप्रमुख देखि नगरकार्यपालिका सदस्यहरुको मात्रै विवरण राखिएको छ । अन्य नगरसभा सदस्यहरुको कुनै पनि विवरण देखिदैन भने नगरप्रमुख देखि नगरकार्यपालिका सदस्यहरुको पनि नाम र सम्पर्क मात्रै राखिएको छ । उहाँहरुको पृष्ठभूमि, शैक्षिक योग्यता देखि उहाँले समाजमा पुर्याएको योगदानको कुनैपनि चर्चा गरिएको छैन । परिचय खण्डमा एउटै विवरण राखेर जनप्रतिनिधि शीर्षक दुई पटक राखिएको छ । त्यस्तै वडाको परिचयमा पनि त्यति मेहनत गरिएको छैन । जवकी वेबसाइट अपटेड भनेर छुट्टै कर्मचारी समेत राखिदा पनि परिचय खण्डमा मेहनत नगरिएको पाईएको हो । हरेक वडामा धार्मिक,ऐतिहासिक, कृषि लगायत अन्य धेरै कुराहरु हुँदापनि जनप्रतिनिधि आएको ३ वर्ष लाग्दासम्म यस सम्वन्धि कुनै विवरण राखिएको छैन । वडा नम्वर, भाषा,जनसंख्या र सम्पर्क नम्वर मात्रै उल्लेख गरिएको छ तर माथि उल्लेखति थप विवरण केहि पाईदैन । त्यस्तै कर्मचारीहरुको विवरण राख्दापनि कार्यालय सहयोगी पछि नासु, खरिदार, सहलेखापाल लगायत अन्य कर्मचारीको नाम राखिएको छ । क्रमवद्धतालाई समेत ध्यान नदिएको नगरपालिकाले शुसासन क्षेत्रको सुधारमा कदम चाल्न कन्जुस्याई गरेको छ । त्यसको उदाहरण हो प्रतिवेदन खण्डका धेरै शीर्षक रित्तै हुनु ।

त्यस्तै कार्यक्रम तथा परियोजना खण्डमा बजेट तथा कार्यक्रममा भने पुरै अपटेड गरिएको छ तर त्यसैतल रहेको खण्डमा भने आय व्याय राख्नमा कन्जुस्याई गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ को चैत्र मसान्त सम्मको आय व्याय विवरण राखेपनि त्यसपछिका महिनाहरुको कुनै पनि विवरण राखिएको छैन । त्यस्तै नगरपालिकाले प्रतिवेदन खण्डमा गम्भीर लापार्वाही गरेको छ । यो खण्ड सुशासनका लागि महत्वपूर्ण मानिन्छ तर यसैमा धेरै विवरण छैन । भित्रका खण्डहरु अधिकाँश रित्तै छन् भने केहि राखिएको तथ्याङ्क धेरै पुराना छन् । २०७३÷०७४ आर्थिक वर्ष पछिका कुनै विवरण पाइदैन भने वार्षिक प्रगति प्रतिवेदन,लेखा परीक्षण प्रतिवेदन,अनुगमन प्रतिवेदन, सार्वजनिक सुनुवाई,सार्वजनिक परीक्षण,सामाजिक परीक्षण खण्ड रित्तै छन् जसले नगरपालिकाको सुशासन पक्षलाई दर्साउने गर्दछ तिनैको प्रतिवेदन वेबसाइटमा छैन । त्यस्तै विद्युतीय शुसासन सेवा खण्डमा घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणको विवरण पुरानो छ ।

सूचना तथा जानकारी खण्डमा भने अन्यमा भन्दा धेरै ताजा अद्यावधिक गरेको पाइएको छ तर त्यसैको निर्णय खण्डमा भने तेस्रो बैठकमा भएका निर्णपछि भएका बैठकका निर्णयहरु राखिएको छैन । आव २०७४÷०७५ पछिका कुनै पनि अपडेट पाईदैन । जनताले चुनेर पठाएका प्रतिनिधिहरुले झन् धेरै सूचनाहरु खुल्लापन गर्नुपर्नेमा सूचना सार्वजनिक गर्नमा सक्रियता नदेखिएको हो ।

Share.

Leave A Reply