गैंडाकोटमा भु–संरक्षणमा सामुदायिक वनको भुमिका अहम्

0

प्रेम क्षेत्री
साउन २३, गैंडाकोट । गैंडाकोट क्षेत्रमा भु–संरक्षणका लागि योजनागत रुपमा अघि नबढेपनि भु–क्षय हुन नदिन रोकथामको प्रयास भईरहेको सरोकारवालाहरुले दावी गरेका छन् । गैंडाकोटमा रहेका वन केही भिरालो क्षेत्रमा रहेपनि त्यति ठुलो भु–क्षयको सम्भावना नरहेको उनिहरुको भनाई छ । भु–संरक्षण दिवसका अवसरमा विजय एफएममा भएको भु–संरक्षणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सामुदायिक वनका पदाधिकारीले भु–क्षय हुने सम्भावित क्षेत्रमा वृक्षारोपण लगायत तटबन्धन गर्ने गरेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै नन्दन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष घनश्याम कंडेलले भु–क्षय हुने स्थानमा पहिचान गरेर रोकथामका लागि योजनागत क्रियाकलाप सञ्चालन नभएपनि वृक्षारोपणका कार्यक्रम गरिरहेको बताउनुभयो । खालीठाउँमा वृक्षारोपण गर्ने र जंगल जोगाउने काममा उपभोक्ता समूह केन्द्रित रहेको बताउनुभयो ।
उहाँले स्थानिय तहले अहिले १० प्रतिशत माग गरिरहको जनउँदै दिने की नदिने भन्ने दोधारमा रहेको बताउनुभयो । स्थानीय तहले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने बताउँदै उहाँले सामुदायिक वन दोहोरो मारमा पर्न नहुने बताउनुभयो । त्यस्का लागि स्पष्ट नीति बनाउँदा सामुदायिक वनका पदाधिकारी, महासंघ र स्थानीय सरकार बसेर नीति निर्माण गर्ने वातावरण सिर्जना गर्न माग गर्नुभयो ।
भेडावारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गुरुप्रसाद पौडेलले गैंडाकोटमा रहेका जंगल भिरालो जमिनमा रहेको र लगातार आकाशे पानीले खाडल पर्ने, चरहरु पर्ने भएकाले त्यस्ता स्थानको रोकथामका लागि प्रयास जारी रहेको बताउनुभयो । वैज्ञानिक वन भएपनि भु–क्षयको जोखिम स्थानमा रहेका त्यस्ता ठाउँका रुख काट्न रोक लगाईएको उहाँको भनाई छ । भु–क्षय हुने सम्भावना कम रहेपनि माटो बगरे नजाओस् भन्ने हिसाबले त्यस्ता स्थानमा तटबन्धन गरिएको उहाँले बताउनुभयो । केही व्यक्तिले वस्ती विस्तार गरेर जंगल मिचेको पाईएकाले त्यस्ता वस्ति हटाउँदै ८०० मिटर तारबार गरिएको र अन्य क्षेत्रमा तारबार गर्ने काम अघि बढाईएको उहाँले बताउनुभयो ।
सामुदायिक वनले छुट्याएको रकम समुदायको हितका लागि नै खर्च भईरहेको जनाउँदै उहाँले स्थानिय सरकारले वनलाई अंकुश लगाउन खोजेको आरोप लगाउनुभयो । स्थानीय तहले माग गरेको १० प्रतिशतका विषयमा गहन छलफल गरि निचोडमा पुग्नुपर्ने उहाँको भनाई छ ।
मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काशीनाथ कंडेलले गैंडाकोटमा पहाडी क्षेत्रमा वन जंगल रहे पनि भु–क्षय हुने सम्भावना कम रहेको बताउनुभयो । गैंडाकोटमा रहेका केही खोलाले कटान गर्ने र वस्तीमा पानी पसेर असर पु¥याउने गरेको उहाँले बताउनुभयो । अन्य भन्दा वढि जोखिम रहेको चुआर खोलालाई तटबन्धन गर्ने, पानीको बहावलाई कम गर्न जलाशय गरेर नारायणी नदितर्फ पठाउने कामलाई डिपिआर गरेर नियन्त्रण गर्ने कार्य अघि बढाईएको उहाँले बताउनुभयो । यसले भु–क्षय हुनबाट जोगिने, गाउँ सुरक्षित हुने र पानी पनि व्यवस्थापन हुने उहाँको विश्वास छ । भु–क्षय हुने सम्भावित क्षेत्रमा निगालो, बाँस, अम्रिसो तथा तारजाली लगाएर रोकथाम गर्ने काम अघि बढार्ईएको उहाँले जानकारी दिनुभयो ।
स्थानिय सरकार आईसकेपछि वनका विषयमा नीति बनाउँदा अध्ययन नगरिकएको जनाउँदै उहाँले स्थानिय तहले सकरात्मक रुपमा हेरेपनि आवश्यक सम्भाव्यता अध्ययन हुन नसकेको बताउनुभयो । सामुदायिक वनको १० प्रतिशत आम्दानी स्थानीय तहलाई दिनुपर्ने भनि दवाव दिईरहेको उल्लेख गर्दै उहाँले यस विषयमा स्पष्ट नीति हुनुपर्ने बताउनुभयो ।
नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनानाथ त्रिपाठीले भु–क्षय रोक्नका लागि वृक्षारोपण, सिमसार क्षेत्रको निर्माण लगायतका गतिविधी सञ्चालन गरिएको बताउनुभयो । हाईटेन्सन विद्युत विस्तारका क्रममा भएको विनास र संरक्षणमा चुनौती देखिएको उहाँले बताउनुभयो । गैंडाकोटमा विद्युत विस्तार तथा सडक विस्तार लगायतका कारण वन विनास भएपनि विकास भएको प्रसंग जोड्दै उहाँले भु–क्षय हुने स्थानमा राज्य तथा स्थानीय तहले छलफलको वातावरण सिर्जना गर्न नसकेको बताउनुभयो ।
सामुदायिक वनबाट १० प्रतिशत आम्दानी स्थानिय तहले माग गर्दैगर्दा स्पष्ट वन नीति बनाउनुपर्ने उहाँले बताउनुभयो । साथै उहाँले वन, वातावरणका जानकार व्यक्तिसँग बसेर गहन छलफल गरेर अघि वढे निष्कर्षमा पुग्न सकिने बताउनुभयो ।
जयश्री सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष दानबहादुर क्षेत्रीले नाङ्गा डाँडाहरुमा वृक्षारोपण गरिएको उल्लेख गर्दै खोल्सा कुलेसो तथा बाटो निर्माणका क्रममा हुने क्षति रोक्न बाँस, निगालो, अम्रिसो लगायत अन्य बोटविरुवा लगाउँदै अघि वढिरहेका बताउनुभयो । कालीगण्डकी करिडोर विस्तार गर्ने क्रममा २३० वटा रुख कटान भएको जनाउँदै उहाँले ३ मिटर बाटो फेरी विस्तार गर्न रुखहरु छपान भएको बताउनुभयो । विकास निर्माण पनि गर्नुपर्ने र वन संरक्षण पनि गर्नुपर्ने अवस्था रहेको जनाउँदै उहाँले सडक विस्तार गर्दा केही जटिल परिस्थिती सिर्जना भएको बताउनुभयो ।
सामुदायिक वनले छुट्याएको रकम कतिपय सदुपयोग भएको र कतिपय दुरुपयोग भएको पाईएको जनाउँदै स्थानीय तहले सवैलाई एउटै बास्केटमा राखेर हेर्न नुहने बताउनुभयो । स्थानिय तहसँग समन्वय गरेर अघि बढ्न तयार रहेको जनाउँदै उहाँले एकद्वार प्रणाली मार्फत जानुपर्ने बताउनुभयो । स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रमको सहजिकरण समाचार प्रमुख डोलराज रानाभाटले गर्नुभएको थियो ।

Share.

Leave A Reply