गैंडाकोटमा घर बनाउने घटे

0
  • एक वर्षमा थपिए ३ सय ६२ घर
    महिनामा बन्छन् १५ देखि २९ वटा घर
    अधिकांश घर ‘ग’ वर्गका
    जग्गाको कारोवार ओरालो
    ९० प्रतिशत व्यक्तिगत संरचना
    मापदण्ड पूरा नगरे पाँच लाख जरिवाना र भत्काउन सकिने

 

  • प्रेम क्षेत्री/माया कंडेल
  • गैंडाकोट । गैंडाकोट नगरपालिकामा नयाँ घर बनाउने क्रम घटेको पाइएको छ । यहाँको वातावरण, अत्यावश्यकीय सेवा सुविधाको सहज पहुँच रहेका कारण पनि केही वर्ष अघिसम्म नयाँ घर थपिने क्रम तीव्र थियो । गएको आर्थिक वर्षमा भने नयाँ घर बन्ने क्रम घटेको पाइएको छ । जग्गामा देखिएको कारोवार ओरालो लागेका कारण नयाँ घर बन्ने क्रम कम देखिएको विश्लेषण गरिएको छ ।
    गएको एक वर्षको अवधिमा मात्र ३ सय ६२ नयाँ घर थपिएका छन् । जसमध्ये २ सय ५६ वटा घरको निर्माण कार्य सम्पन्न भएको छ । गैंडाकोट नगरपालिकामा आर्थिक वर्ष २०७५÷०७६ मा नक्सा पास गरेर बनाउने घरको तथ्याङ्क हो यो । जुन अघिल्लो आर्थिक वर्ष भन्दा कम हो ।
    आर्थिक वर्ष २०७४÷०७५ मा भने ४ सय ४६ घरले स्थायी इजाजत लिएकामा ४ सय ९३ वटा नयाँ घरको निर्माण कार्य सम्पन्न भएको थियो । स्थानिय तहसँगै संरचना परिवर्तन र गैंडाकोट नगरपालिका बनिसकेपछि नक्सा पास गराउनेको सङ्ख्या अघिल्ला अर्थिक वर्षमा बढे पनि अहिले भने त्यो कम देखिएको छ ।
    नगरपालिका क्षेत्रमा बनिरहेका अधिकांश संरचना राष्ट्रिय भवनसंहिता अनुसार ‘ग’ वर्गका रहेका छन् । बनेका संरचनाहरु ९० प्रतिशत व्यक्तिगत र बाँकी १० प्रतिशत संस्थागत संरचना रहेका छन् । संस्थागतमा ५ प्रतिशत उद्योगका रहेका छन् भने बाँकी मठमन्दिर, विद्यालय, समूहगत संस्थाहरु रहेका छन् । मासिक रुपमा गैंडाकोटमा सरदर १५ देखी २९ वटा नयाँ घरको निर्माण कार्य सम्पन्न हुने गरेको तथ्याङ्कले देखाएको छ ।
    गैंडाकोट नगरपालिकामा आर्थिक वर्ष २०७५÷०७६ मा एक वर्षको अवधिमा २ हजार ४ सय ६३ जनाले नक्सा पाससम्बन्धी सेवा लिएको नगरपालिकाका प्राविधिक शाखाका इन्जिनियर राजु अर्यालले जानकारी दिनुभयो । रातो कार्ड प्राप्त भूकम्पपीडित, मठमन्दिर, गुम्बालगायतका संरचना निर्माण गर्दा नक्सा पासमा दस्तुर नलाग्ने उहाँले जानकारी दिनुभयो । गैंडाकोट नगरपालिकाबाट नक्सा पाससम्बन्धी ५ सय ३२ जनाले १५ दिने सूचनाको सेवा लिएका छन् भने २ सय ८० जनाले डि.पि.सि. इजाजत लिएका छन् । त्यस्तै ३ सय ६२ जनाले स्थायी इजाजत लिएका छन् । एक वर्षको अवधिमा २ सय २ घरको पुरानो अभिलेख राखिएको पाइएको छ ।
    घर भाडामा लगाउन, बिजुली, खानेपानी लगायतको सेवा सुविधा प्राप्त गर्न पनि नक्सा पास अनिवार्य रहेको छ । नक्सा पास नगरी संरचना बनेका खण्डमा या मापदण्ड पूरा नगरे नगरपालिकाले पाँच लाख रुपैयाँसम्म जरिवाना लगाई भत्काउन आदेशसमेत दिन सक्ने उहाँले बताउनुभयो ।

  • नक्सापास नयाँ घर निर्माणको लागि मात्र नभई बनिसकेको घरमा थप निर्माण गर्न वा भत्काउनका लागि पनि नगरपालिकाबाट अनुमति लिनु पर्दछ । सरकारी तवरबाटै अब बन्ने नयाँ घरको नक्सा पास अनिवार्य गरेपछि हरेक नगरपालिका तथा गाउँपालिकाले पनि नक्सा पासलाई अनिवार्य गरेको छ । सुन्दर, दिगो र सुरक्षित बस्ती बनाउन पनि नक्सा पासलाई अनिवार्य गरेको छ ।
    नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको गैंडाकोट नगरपालिकामा पनि नयाँ घर बनाउँदा नक्सा पास अनिवार्य गरिएको हो । गैंडाकोटलाई एक दिगो र सुरक्षित नगरपालिकाका रुपमा विकास गर्ने उद्देश्यले गैंडाकोट नगरनगरपालिकाले नयाँ बन्ने घर अनिवार्य नक्सा पास गर्नुपर्ने प्रावधान राखेको छ । नक्सा पास आफ्नो व्यक्तिगत र सामाजिक सुरक्षा सँगसँगै सुरक्षित सहर निर्माण गर्ने आधारभूत तत्त्व पनि हो । नक्सामा भवन निर्माण संहिता र भवननिर्माण मापदण्डलगायत अन्य कुराहरुको पनि हुन्छ । नक्सा पास प्रक्रियामा गइसकेपछि नक्साको डिजाइन नगरपालिकाको मापदण्ड बमोजिम छ छैन, भवन संहिता अनुसार छ छैन अथवा भूकम्पीय सुरक्षित छ छैन सबैजाँच हुन्छ । सँगै विभिन्न सेवा लिँदा घरको नक्सा पास अनिर्वाय गरिएपछि पनि नक्सा पास गराउनेको सङ्ख्या वढिरहेको छ ।
    नक्सापास गरेर बनाएको घर धितो राखेर बैंकबाट ऋण लिन सकिन्छ । मालपोत कार्यालय मार्फत घर खरिद बिक्रीगर्न पनि नक्सा पास गरेर घर बनाएको हुनुपर्दछ । कुनै पनि घर भवन निर्माण संहिता पालना भएको छ छैन भन्ने थाहा पाउनका लागि पनि नक्सा आवश्यक पर्छ । नक्साले मात्र त्यसको जानकारी दिन्छ । साथै नक्सापास गरेर घर बनाएको खण्डमा नगरपालिकाले दिने विभिन्न सुविधाबाट घरधनी वञ्चित हुनु पर्दैन ।
Share.

Leave A Reply