गैंडाकोट ६ मा निर्माण गरिएका घर टहरा नगरपालिकाले हटायो

0


माया कंडेल
साउन २१, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ६ नारायणी नदी किनारमा रातारात बनेका केही घर टहरा गैंडाकोट नगरपालिकाले हटाएको छ । गैंडाकोट ६ को नमुना बोटेटोलमा रहेको सार्वजनिक जग्गामा रातारात घर बनेपछि स्थानियबासी, प्रहरीको सहयोगमा नगरपालिकाले हटाएको हो । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सार्वजनिक जग्गा संरक्षण गर्नु नगरपालिकाको दायित्व रहेको जनाउँदै अवैधानिक रुपमा बनेका घर टहरा भत्काईएको बताउनुभयो ।


केही सुकुम्बासीले रातारात करिब आधादर्जन घर टहरा निर्माण गरेका थिए । उनिहरुले बासको व्यवस्था नभएपछि टहरा निर्माण गरेको जनाएका छन् । नगरपालिकाले उचित बासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । भुमि अधिकार मञ्च गैंडाकोट ६ की वडा सचिव उर्मिला कुमालले भुमिहिनहरुलाई भुमी उपलब्ध गराउन माग गर्नुभएको छ । स्थानिय शान्ती परियारले आफु घरबार विहिन भएको जनाउँदै अब कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको बताउनुभयो । स्थानिय अभय कुमालले पार्क बनाउन योजना ल्याउने नगरपालिकाले सुकुम्बासी व्यस्थापनका लागि योजना नल्याएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।


सो जग्गामा पार्क बन्न लागेपछि स्थानियले टहरा बनाउने प्रयास गरेका हुन् । गैंडाकोट ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले वडामा कसैले पनि घर जग्गा बनाउने विषयमा जानकारी नगराएको बताउँदै सार्वजनिक स्थलमा घर टहरा निर्माण गर्न नमिल्ने बताउनुभयो । घर जग्गाको समस्या भए नगरपालिका समक्ष कुरा राख्न उहाँले आग्रह गर्नुभयो ।
भत्काईएका घर टहराका सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको छ । सार्वजनिक सो जग्गामा केहीदिनमा तारबार गरेर वृक्षारोपण गर्ने नगर प्रमुख पौडेलले बताउनुभयो ।

Share.

Leave A Reply