गैँडाकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम/ १८ लाख फ्रिज । प्रदेशतर्फबाट प्राप्त वित्तीय समानीकरणको भने १०० प्रतिशत खर्च

0

⇒ वित्तीय समानीकरण केन्द्रतर्फ करिब ९८ प्रतिशत खर्च

⇒ वित्तीय समानीकरण अनुदान प्रदेशतर्फबाट प्राप्त १०० प्रतिशत खर्च

⇒ बहुक्षेत्रीय पोषण कार्यक्रममा ९८ प्रतिशत खर्च

⇒ झोलुङ्गे पुलमा १०० प्रतिशत खर्च

डोलराज रानाभाट÷माया कडेल, गैँडाकोट, ७ श्रावण । गैँडाकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको बजेट फ्रिज भएको छ । कार्यक्रमका लागि केन्द्रबाट ४५ लाख ८८ हजार रुपैयाँ प्राप्त भएकामा जम्मा २७ लाख ५० हजार ७ सय ६ रुपैयाँ मात्र खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख मोहनशरण भण्डारीले बताउनुभयो ।
गँैडाकोट नगरपालिकाका ७ वटा वडामा कार्यक्रम हुन नसकेको रोजगार संयोजक तारा उपाध्यायले बताउनुभयो । कार्यक्रम हुन नसकेपछि १८ लाख ३७ हजार २ सय ९४ रुपैयाँ फ्रिज भएको हो । यसअघि गैँडाकोटको रोजगार शाखाले कार्यक्रममा आएको ४० लाख रुपैयाँमध्ये १८ वटा वडामा प्रत्येक वडाले करिब २ लाख २२ हजार रुपैयाँ पाउने गरी रकम छुट्टाइएको बताएको थियो ।

गैडाकोटका वडा न १, ५, ६, ८, १०, १६ र १७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुन नसकेको हो । वडामा काम गर्ने मान्छे नै नभएर र वडामा काम नै नभएर, वर्षाको समयमा रोपाइँले व्यस्त हुने वेलामा कार्यक्रम आएर प्रधानमन्त्री रोजगार कार्यक्रम गर्न नसकिएको वडा अध्यक्षहरुको भनाइ छ ।

गैँडाकोट नगरपालिकालाई वित्तीय समानीकरण शीर्षकमा प्राप्त रकमको ९७ दशलब ५२ प्रतिशत खर्च भएको छ । कूल ३८ करोड ६६ लाख ९५ हजार प्राप्त भएको रकममा ३७ करोड ७१ लाख ८ हजार ९ सय ६६ रुपैयाँ खर्च भएको भण्डारीले बताउनुभयो । नगरपालिकामा आर्थिक वर्ष २०७५÷७६ मा सो शीर्षकमा प्राप्त रकममध्ये ९५ लाख ८६ हजार फ्रिज भएको हो ।

यस्तै नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानको रकम भने शतप्रतिशत खर्च गर्न सफल भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरले दिएको तथ्यांकअनुसार ६४ लाख ६३ हजार ५ सय रुपैयाँ प्राप्त भएकामा शतप्रतिशत खर्च भएको हो ।
यसैगरी बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गतको १७ लाख १९ हजार रुपैयाँ मध्ये १६ लाख ८१ हजार ७ सय ५५ रुपैयाँ खर्च भएको छ ।
यस्तै गैँडाकोट नगरपालिकालाई झोलुङ्गे पुल निर्माण शीर्षकमा प्राप्त ५ लाख ८० हजार पनि शतप्रतिशत खर्चभएको कोष तथा नियन्त्रक कार्यालय नवलपुरले जनाएको छ ।

Share.

Leave A Reply