नवलपुरमा ८४ करोड बजेट फ्रिज

0

श्रीधर उपाध्याय/डोलराज रानाभाट,गैँडाकोट,७ श्रावण । नवलपुर जिल्लामा आर्थिक वर्ष २०७५÷७६ का लागि केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त पुँजीगत तथा चालुतर्फको गरी कुल बजेटमध्ये ८४ करोड २९ लाख ५० हजार ६ सय ७३ रुपैयाँ फ्रिज भएको छ । जिल्लालाई ५ अर्ब ७७ करोड ६४ लाख १८ हजार रुपैयाँ प्राप्त भएको थियो । त्यसमध्ये ४ अर्ब ९३ करोड ३४ लाख ६७ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख मोहनशरण भण्डारीले जानकारी दिनुभयो ।

नवलपुर जिल्लामा यस पटक प्रदेश सरकारबाट प्राप्त पुँजीगत रकमको आधामात्रै खर्च भएको छ । कुल १ अर्ब १० करोड ५ लाख ६३ हजार रुपैया विकासका लागि आएको रकमको जिल्लामा ४९ दशमलव ३१ प्रतिशत मात्रै खर्च भएको हो । अर्थात् ५४ करोड २६ लाख ५१ हजार ७ सय ८९ रुपैया खर्च भएको देखिन्छ भने ६ करोड ७६ लाख ८० हजार २ सय २ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरका प्रमुख भण्डारीले बताउनुभयो ।

प्रदेश सरकारबाट प्राप्त चालु खर्च भने ७५.५२ प्रतिशत सकिएको छ । २७ करोड ६४ लाख ९६ हजार ७ सय ६३ रुपैयाँ प्राप्त भएको रकमको २० करोड ८८ लाख १६ हजार ५ सय ६० रुपैयाँ निकास भई खर्च भएको हो । ५५ करोड ७९ लाख ११ हजार २ सय ११ रुपैयाँ फ्रिज भएको भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार प्रदेश सरकारको व्यवस्थापनमा ढिलाइ हुनु र कर्मचारीको समायोजनको समस्याका कारण पर्याप्त खर्च हुन नसकेको हो ।
त्यस्तै केन्द्र सरकारबाट नवलपुर जिल्लाका लागि ३ अर्ब ८४ करोड ९२ लाख ७ हजार रुपैयाँ पुँजीगत खर्चका लागि प्राप्त भएको थियो । सो रकमको ८९ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड ८२ लाख ५ हजार ७ सय ६९ रुपैयाँ खर्च भएको छ । पुँजीगत बजेटको ४२ करोड १ लाख १ हजार २ सय ३१ रुपैयाँ खर्च हुन नसकी केन्द्रमा फिर्ता भएको छ ।

जिल्लाका लागि सोही सरकारबाट ४ अर्ब १४ करोड ४ लाख ३१ हजार रुपैयाँ चालु खर्चका लागि प्राप्त भएको थियो । सो रकमको करिब ९६ प्रतिशत अर्थात् ३ अर्ब ८३ करोड ९१ लाख ७३ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको हो । चालु बजेटको १७ करोड ५२ लाख ५८ हजार खर्च हुन नसकी फिर्ता भएको छ ।

Share.

Leave A Reply