विद्युत प्राधिकरण गैडाकोट प्र.शाखाद्धारा साँढे २३ करोड बढि राजश्व संकलन/विद्युत चोरीगर्ने १९ जनालाई कारवाही

0

डोलराज रानाभाट, गैडाकोट २ श्रावण । नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशारण शाखाले राजश्वमा राम्रो प्रगति गरेको छ । प्राधिकरणले दिएको ९८ प्रतिशतको मापदण्डलाई पार गर्दै गत आर्थिक वर्ष २०७५÷०७६ मा ९९ दशमल २६ प्रतिशतले संकलनमा सफलता प्राप्त गरेको शाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा शाखाले कूल २३ करोड ५७ लाख ४५ हजार ६ सय ८१ रुपैया राजश्व संकलन गरेको छ ।

हालसम्म ९ हजार २ सय ८४ जना उपभोक्ता रहेको शाखाले लाईन काटिएका ३११ उपभोक्ताको लाइन पुन जोडिदा वक्यौता रकम सहित ३६ लाख ८७ हजार ३९२ राजश्व संकलन गरेको रिजालले जानकारी दिनुभयो । साथै कालोसुचीमा परेका उपभोक्ताहरुसँग १० लाख ३९७ रुपैया राजश्व उठाउन पनि शाखा सफल भएको छ । महसुल नतिर्ने २८५ जना उपभोक्ताको भने लाईन काटिएको छ भने १९ जनालाई विद्युत चुहावटको आरोपमा पक्राउ गरि कारवाही गरिएको छ ।

१६ वटा शीर्षकमा उठेको उक्त राजश्वमा सवै भन्दा धेरै उद्योग क्षेत्रबाट १३ करोड ५२ लाख ६७ हजार ५२७ रुपैया संकलन भएको छ भने ग्राहस्थ बाट ८ करोड ८ लाख १७ हजार ८२३ रुपैया संकलन भएको शाखा प्रमुख रिजालले बताउनुभयो । सिचाई, खानेपानी, मनोरन्जन,कमर्सीयल लगायतका अन्य शीर्षकबाट वाँकी राजश्व संकलन भएको हो ।

Share.

Leave A Reply