निराश नहुन वडाबासीलाई गैँडाकोट ३ का वडा अध्यक्षको आग्रह

0

प्रेम क्षेत्री
असार ३१, गैँडाकोट । गैँडाकोट नगरपालिका वाड नं. ३ ले सम्पूर्ण वडाबासीको जनचाहना अनुसार बजेट विनियोजन गरिएको जनाएको छ । वडाका केही पक्षले उठाएका असन्तुष्टिलाई सम्बोधन गर्दै गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीले वडामा पारदर्शी तरिकाले नै काम गरिरहेको बताउनुभयो ।

मंगलबार गैंडाकोट नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले वडाको समृद्धि र विकासका लागि वडा कार्यसमिति निरन्तर खटिएको बताउनुभयो । यसअघि सोमबार गैँडाकोट नगरपालिका कार्यालयमा केही वडाबासी पुगि विनियोजित बजेटप्रति असन्तुष्टि जनाउँदै नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए । ततपश्चात मंगलबार वडाबासी, वडाका विभिन्न संघ संस्था, मठ मन्दिर, टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधि, सम्पूर्ण वडा सदस्यसहितको उपस्थितीमा भएको कार्यक्रममा वडा अध्यक्ष तिवारीले भौगोलिक रुपमा ठूलो वडा भएका कारण योजना तर्जुमा छनोटका लागि एकै स्थानमा आउन नसक्ने अवस्थामा टोल टोलमा पुगेर योजना छनोट गरिएको बताउनुभयो ।

उहाँले आफुमाथी लगाईएको विभिन्न आरोपको खण्डन गद शिक्षा र जनचेतनाका कारण पछि परेका गैँडाकोट ३ का महिलाहरुको नेतृत्व विकास, क्षमता विकासका लागि महिला समूहहरुको परिचालनका लागि बजेट विनियोजन गरिनु उपयुक्त भएको धारणा व्यक्त गर्नुभयो ।

आर्थिक अवस्थाकै कारण शिक्षाबाट बञ्चित विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम महत्वपूर्ण भएको समेत उहाँको भनाई छ । साथै उहाँले विकास निर्माणका सन्दर्भमा बजेट अपूग भएका स्थानमा वडा बासीको साथ र सहयोगसंगै नगर, प्रदेश र केन्द्रसम्म पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै वडाबासीलाई निराश नहुन आग्रह गर्नुभएको छ ।

भौगोलिक अवस्थाका कारण शिक्षा, स्वास्थ्य, मानविय विकासका विविध आयाममा पछि परेको गैँडाकोट ३ को समृद्धिका लागि विकासका सम्पूर्ण आयाममा समूचित रुपमा बजेट विनियोजन गरिनु आवश्यक रहेको समेत उहाँको भनाई छ ।

आर्थिक वर्ष २०७६÷७७ का लागि सामाजिक विकास तर्फ १६ लाख ६२ हजार, पूर्वाधार विकास तर्फ ३० लाख ५० हजार, आर्थिक विकास तर्फ ५ लाख ५० हजार, युवा, बालबालिका महिला तथा बृद्धबृद्धाका लागि ८ लाख ५० हजार, वडाको डकुमेन्ट्री, सूचना, वडाको कृषि, पर्यटन, पशुपालन लगायतका विकासका विविध आयामको प्रवर्धन, सामुदायिक मेलमिलाप, वडाका प्रतिभा सम्मान लगायतका विविध शिर्षकमा ५ लाख र भैपरी आउने खर्चका लागि ४ लाख ८८ हजार विनियोजन गरीएको उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु भूपाल आले, थमबहादुर गन्द्रमा मगर, दिपा गुरुङ, मित्रमाया सुनार लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply