पहाडी क्षेत्रमा युवाहरू रित्तिँदै

0


श्रीधर उपाध्याय
बौदीकाली । नवलपुरको पहाडी क्षेत्रमा बूढाबूढीका तुलनामा युवाहरु कम देखिन्छन् । बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका र हुप्सीकोट गाउँपालिकाका बस्ती खाली हुँदै छन् । त्यस क्षेत्रमा घर त छन् तर घरभित्र पूर्ण परिवार छैनन् । युवाहरु रोजगारीका लागि विदेशिएका छन् । कतिपय तराई झरेका छन् । छोराछोरी पढाउन एउटा जमात राजमार्ग आसपास बस्ती झरेको छ । नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्षसमेत रहनुभएका पत्रकार होमराज रानाभाट भन्नुहुन्छ “पहाडी क्षेत्रका ३० प्रतिशत घरपरिवार पहाड छोडेर तल झरेको छ, ३० प्रतिशत घरपरिवारले तराई बसोबास गरेपनि पहाड पूर्ण रुपमा छोडेको छैन ।”
पहाडी क्षेत्रका विद्यालयमा माथिल्लो कक्षामा विद्यार्थी सन्तोषजनक देखिएपनि तल्लो कक्षामा विद्यार्थी संख्या न्यून छ । परिवारहरु विस्थापित बन्दै गएपछि विद्यालयहरुमा विद्यार्थीको संख्यामा कमी आएको पत्रकार गोविन्द लामिछानेको भनाइ छ ।
स्थानीय मोहन रानाभाट डाँडाझेरी एक्लै बस्नुहुन्छ । उहाँको परिवार छोराछोरी पढाउन तराई झरेको छ । रानाभाट पुरानो घर कुरेर सानो व्यवसाय गर्दै बस्नुभएको छ । गाउँवस्ती खाली हुँदै छन्, युवाहरु गाउँमा देखिँदैनन् । बूढाबूढीले मात्र पहाड कुरेको स्थानीय दयालाल रानाभाटले बताउनुभयो । युवाहरु छैनन्, हामी बूढाबूढी काम गर्न सक्दैनौँ, पहाडका खेतीयोग्य जमिनहरू पनि खाली हुँदैछन् । उमेरले वृद्ध भइसक्नुभएका रानाभाटलाई गाउँमा सेवासुविधा नहुँदा युवाहरु विस्थापित भएको बताउनुभयो ।
बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीलाई पनि गाउँ रित्तिँदै गएकामा चिन्ता छ । यसको समस्याको समाधान यातायात, शिक्षा र बिजुलीकरण भएको अध्यक्ष बस्ताकोटीको भनाइ छ ।
गाउँबाट विस्थापित हुने बढ्दो संख्याप्रति बौदीकाली गाउँपालिकालाई पनि चिन्ताको विषय बनेको छ । गाउँ फर्कन चाहनेलाई गाउँपालिकाले प्रोत्साहन भत्तासमेत दिने गरेको गाउँपालिका अध्यक्ष दुर्गा रानाले बताउनुभयो । यस अभियानले करिब ७ परिवार गाउँ फर्किएको अध्यक्ष रानाको भनाइ छ । गाउँपालिकाले प्रोत्साहन स्वरुपप्रति परिवार करिब ३० हजार उपलब्ध गराउँदै आएको अध्यक्ष रानाले बताउनुभयो ।
नवलपुरको पहाडी क्षेत्रको विकास, यातायात, शिक्षा र विद्युतीकरणबाट नै सम्भव देखिन्छ । पहिलो प्राथमिकता यिनै पक्ष रहेको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको भनाइ छ । यस आर्थिक वर्षमा यातायातमा जोड दिनुभएका अध्यक्ष बस्ताकोटीले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा जोड दिने बताउनुभयो । विकासका सबै पूर्वाधारमा समुचित विकास गर्न सके पलायनको समस्या रोकिने अध्यक्ष बस्ताकोटीको भनाइ छ ।
राष्ट्रिय योजनामा रहेको कालिगण्डकी करिडोरको निर्माण पक्रियाले गाउँमा आशा जगाएको छ । कालिगण्डकी करिडोर आसपासका जग्गा लिन गाउँ फर्कनेहरु बढिरहेका छन् । यसले पनि पहाडी क्षेत्रको सम्भावनामा आशा बढाएको गाउँपालिका अध्यक्ष बस्ताकोटीले बताउनुभयो । गाउँको विकासका लागि, गाउँ फर्कने वातावरण बनाउन यातायात, शिक्षा, विद्युतीकरणमा जोड दिनुपर्ने देखिन्छ ।

Share.

Leave A Reply