सरस्वतीको रजत वर्ष : ट्युसन सेन्टरदेखि १२ कक्षा सम्म

0


गैँडाकोट, ७ फागनु । गैँडाकोट १ मा रहेको सरस्वती निकेतनले २५ वर्षको यात्रा पुरा गरेको छ । २०५० साल फागुन ३ गते स्थापना भएको विद्यालयले मंगलबार रजत वर्ष समारोहको समापन गरेको हो । २०५० साल कार्तिक महिनामा गैँडाकोटमा सञ्चालित ट्युसन सेन्टर यहाँका बुद्धिजिविहरुको सुझाबले विद्यालयको स्वरुप लिएको प्रचार्य भरतबाबु कंडेलले बताउनुभयो । प्राचार्य कंडेलका अनुसार वि.सं २०५० साल माघमा अनुमति पाएको थियो ।
पहिलो वर्ष ७५ जना विद्यार्थीबाट सुरु गरेको सरस्वतीको शैक्षिक यात्रा अहिले कलेजको आकार लिएको छ । १२ कक्षासम्म अध्यापन गराउँदै आएको विद्यालयमा करिब ११ सय विद्यार्थीले अध्ययन गरिरहेको प्राचार्य कंडेलले बताउनुभयो । रजत महोत्सव समारोहमा सरस्वती निकेतनले २५ वर्षको ऐतिहासिक दस्तावेजको रुपमा स्मारिका समेत विमोचन गरेको छ । यसैगरी रजत महोत्सव स्तम्भको उद्घाटन गरिएको छ ।


रजत महोत्सव समारोहका प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. शंशाक कोइरालाले प्रजातन्त्रलाई सुदृढ गर्दै  राष्ट्र समुन्नतीको महायज्ञमा सरीक सरस्वति निकेतनलाई सदिच्छा प्रकट गर्नुभएको छ । निजि क्षेत्रबाट देशको शैक्षिक क्षेत्रको विकासमा अहम भूमिका खेलेको बताउनुभयो ।
रजत महोत्सव समारोहमा निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका उपाध्यक्ष, गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, पूर्व सांसद कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो ।


रजत महोत्सव समारोहमा सरस्वती निकेतनका नर्सरी देखि कक्षा १२ सम्म विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले आफ्नो विभिन्न कला, सिर्जना, विज्ञानका विभिन्न प्रदर्शनीहरुलाई विभिन्न स्टलमा प्रदर्शन गरेका थिए ।


रजत महोत्सव समारोहको सहजीकरण विद्यालयका शिक्षक पिताम्बर सापकोटाले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य भरतबाबु कंडेलले गर्नुभएको थियो ।
रजत महोत्सवका अवसरमा विद्यालयले एक वर्ष भरि विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रमहरु सम्पन्न गरेको थियो । विद्यालयले यस अघि नै स्व. फत्तेबहादुर कंडेलको स्मृतिमा १० लाख ५० हजारको छात्रवृत्ती अक्षयकोष स्थापना गरेको विद्यालयका सञ्चालक अध्यक्ष गणेश सापकोटाले बताउनुभयो ।

Share.

Leave A Reply