कविता : पुस्तक

0

धर्मानन्द पौडेल ,गैँडाकोट–१, दिव्यधाम मार्ग

 

होला ज्ञान अथाह यो भुवनमा पस्केर को दिन्छ र ?
तिर्खायो कुन जीव गाउँघरमा खोली कहाँ भन्छ र ?
होला ज्ञान अपार पुस्तकविषे पढ्दैन के मिल्छ र ?
जान्ने चाह भए त भित्र दिलमा केले कहाँ छेक्छ र ?

 

हाम्रा शब्द विचार भाव सबका हुन् वर्ण सांकेतिक
मीठा शब्द र वर्ण भाव सजिई बन्दै गए पुस्तक
हाम्रो वेद अपौरुषेय भनियो देखिन्न लेख्ने कुनै
सारा धर्म रिवाज चाल जति छन् हो मूल यो वेद नै

 

हाम्रा वेद पुराण भाष्य महिमा षट्शास्त्र या दर्शन
मान्छेका मनभावका चहकिला हुन् आत्म उद्बोधन
आए सूत्र विचित्र अंक गणना भूगोल विज्ञानका
मान्छेका रटना र चिन्तन थिए अन्तर्य औ ध्यानका

 

यी डाँडा पहरा र पर्वतहरू छाँगा र झर्नाहरू
बारीखेत हिमाल शैल सरिता मैदान पाखाहरू
झाडी झाङ सफेद नीलपनको आकाश गंगाहरू
तारासूर्य अथाह सिन्धु जलका पीयूषका आवरु

 

डाँफेका नवनाच बाग वनका तित्रा चखेवा घना
घोडा बाँदरका बथान दिलमा दिन्छन् कुनै तर्कना
हेरी मानिस दंग छन् मनमनै कल्पेर नानाथरी
लेखे पुस्तकमा कथेर रसिला यी दिव्य पानाभरि

 

ठूलो पुस्तक ता यही भुवन हो मैदान पानाहरू
यी डाँडा वनवाटिका अधरका उन्मुक्त गानाहरू
खोला ताल हिमाल स्वच्छ जलमा माटो मसीको बनी
सारा काव्य कथा निबन्ध रचना लेखिन्छ है जीवनी ।

 

 

Share.

Leave A Reply