
विजय एफएम
गैँडाकोट, २६ पौष । “आफ्नैै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ भोलीबाट दोस्रो गैंडाकोट महोत्सवको सुरु हुने भएको छ । भोली विहान ९ बजे पछि शोभा यात्रा सुरु हुने प्रचारप्रसार समितिका संयोजक सालिकराम सापकोटाले जानकारी दिनुभएको छ । भोलीको समुद्घाटन कार्यक्रमका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा आउने बताइएको छ । यसैबीच आयोजक उद्योग वाणिज्य संघ गैंडाकोटले महोत्सवको तयारी पुरा भएको जनाएको छ । उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक दिपक सापकोटाले संकलित रकम सामाजिक हितमा प्रयोग गरिने बताउनुभएको छ । उहाँले महोत्सवमा कृषीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । महोत्सवबाट संकलित रकम सामाजिक हितमा प्रयोग हुने बताईएको छ । नारायणी नदि किनार गैंडाकोटमा १० दिन सम्म चल्ने महोत्सवमा तीन सय २० स्टल रहेका छन् । महोत्सवमा प्रवेश शुल्क ५० र विद्यार्थीको हकमा ३० रुपैंया कायम गरिएको छ । विद्यालयको तर्फबाट सामुहिक रुपमा स्कुल पोशाकमा आउनेलाई निशुल्क गरिएको छ । महोत्सवका प्रमुख आर्कषणमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर बंगलादेश, श्रीलंका, भारत, भूटान, पाकिस्तानका अन्तराष्ट्रिय उत्पादनका स्टल समेत रहने छन् ।