
उदयपुर र गुल्मीमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । केहीदिन अघि त्रिशुलीको दुर्घटनामा ३० जना भन्दा बढीको ज्यान गएको थियो ।
उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
उदयपुर । उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
घाइते हुनेमा चालकसहित एक जना महिला र ३ वर्षीय बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।
गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते
१३ कात्तिक, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा ३ जना महिला र ४ जना पुरूष रहेका छन् । घाइते हुनेहरूमा सात जना पुरूष, दुई जना बालवालिकार एक जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ । मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन् । आफन्तहरू सम्पर्कमा नआउन अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घाइतेहरूको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका(४ मा दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १७ जना रहेको बुझिएको छ ।